काठमाडौं । मधेश प्रदेश सभाको बैठक दिउसो २ बजेसम्मको लागि स्थगित भएको छ ।
बुधबार साढे ८ बजेका लागि बोलाइएको बैठक करिब दुई घण्टापछि शूरु भएपनि मुख्यमन्त्रीसहित सत्ता पक्षका सांसद अनुपस्थित भएपछि उपसभामुख बबिता राउत ईश्वरले दिउसो २ बजेसम्मका लागि बैठक स्थगित गरेकी हुन् ।
आजको बैठकमा मुख्यमन्त्री सरोज कुमार यादवले सर्वोच्च अदालतको आदेश अनुसार विश्वासको मत लिने कार्यसूची रहेको थियो ।
सर्वोच्च अदालतले २४ घण्टाभित्र मुख्यमन्त्री यादवलाई विश्वासको मत लिन परमादेश जारी गरेपछि पत्र प्रतिलिपी पाएको आधारमा मंगलबार प्रदेश सभालाई विश्वासको मत लिने वातावरण मिलाइदिन पत्र पठाएका थिए । मधेश प्रदेशमा कूल १०७ सदस्यीय मध्य मधेश प्रदेशसभा रहेकोमा बहुमतका लागि ५४ प्रदेश सभा सदस्यको आवश्यकता पर्छ । तर, मुख्यमन्त्री यादवसँग हाल एमालेका २४ जना प्रदेशसभा सदस्य, नेपाल संघीय समाजवादी पार्टीका एकजना र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक जना प्रदेशसभा सदस्यको समर्थन छ ।
तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम सबैभन्दा ठूलो दलको हैसियतले नेकपा एमालेका दलका नेता यादवलाई गत कार्तिक २४ गते मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् । सो नियुक्तिपछि मधेश प्रदेशको राजनीति तरंगित बनेको थियो । साथै सो नियुक्तिको विरोधमा सर्वोच्चमा कुल तीन रिट दायर भएका थिए । साथै सरकारले प्रदेश प्रमुख भण्डारीलाई समेत पदबाट हटाएर सुरेन्द्र लाभ कर्णलाई नियुक्त समेत गरिसकेको छ ।

