काठमाडौं । सरकारले फिर्ता बोलाएका मध्ये ६ जना राजदूतले राजीनामा दिएका छन् । सरकारले ११ राजदूतलाई परराष्ट्र मन्त्रालयमा कामकाज गर्ने गरी फिर्ता बोलाएको थियो । तीमध्ये हालसम्म ६ जनाले राजीनामा दिएका हुन् ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार राजीनामा दिएका ६ जनाकै राजीनामा स्वीकृत भइसकेको छ । पछिल्लो समय रुसका लागि नेपाली राजदूत जंगबहादुर चौहान र मलेसियाका लागि नेपाली राजदूत डा. नेत्रप्रसाद तिमल्सिनाले राजीनामा दिएका हुन् ।
यसअघि लोकदर्शन रेग्मी (अमेरिका), कृष्णप्रसाद ओली (चीन), चन्द्रकुमार घिमिरे (बेलायत), रमेशचन्द्र पौडेल (कतार) ले राजीनामा दिएका थिए । विदेशबाट फर्किए लगत्तै उनीहरूको राजीनामा आएको र सरकारले स्वीकृत समेत गरिसकेको प्रवक्ता क्षेत्रीले बताए ।
उनीहरूले गरिरहेको कार्यप्रगतिप्रति प्रश्न उठाउँदै सरकारले ३० असोजमा ११ देशका राजदूत फिर्ता बोलाउने निर्णय गरेको थियो । सरकारको उक्त निर्णयपछि सर्वोच्चमा रिट दायर गरिएको थियो ।

