काठमाडौं । ७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा आयोजित कार्यक्रममा अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले लोकतन्त्रको आधार स्वच्छ, निष्पक्ष र भयमुक्त निर्वाचन भएको बताएकी छन्। कार्यक्रममा बोल्दै उनले नागरिकले प्रलोभन, दबाब वा डरबिना आफ्ना प्रतिनिधि छान्न पाउने वातावरण सुनिश्चित गर्नु राज्यको मूल दायित्व भएको स्पष्ट गरिन्।
प्रधानमन्त्री कार्कीले आगामी फागुन २१ गते हुने आमनिर्वाचनलाई मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार सक्रिय रूपमा काम गरिरहेको जानकारी दिँदै सबै पक्षलाई समयमै निर्वाचन सम्पन्न गर्न सहकार्य गर्न आग्रह गरिन्।
उनका अनुसार निर्वाचनमा खटिने सुरक्षा निकायका कर्मचारीलाई उच्च मनोबलमा काम गर्न अनुकूल वातावरण पनि सरकार नै बनाउनेछ।
बालिग नागरिकको मताधिकार सुनिश्चित गर्न कुनै कसर नछोड्ने प्रतिवद्धता जनाउँदै उनले राजनीतिक दलहरूलाई अवरोधविनै निर्वाचन प्रक्रियामा सहभागी हुन अनुरोध गरिन्।
कार्यक्रममा प्रधानमन्त्री कार्कीले भ्रष्टाचारलाई मानव अधिकारको सबैभन्दा ठूलो चुनौतीका रूपमा चिन्दै यसले विपन्न तथा वञ्चित नागरिकको मौलिक अधिकार खोस्ने उल्लेख गरिन्। उनले भ्रष्टाचारविरुद्ध सरकार कडा कदम चाल्न तयार रहेको दोहोर्याइन्।
त्यसैगरी, नयाँ पुस्ता जेनजीले डिजिटल माध्यममार्फत मानव अधिकारका विषयमा गरिरहेको सक्रियता लोकतान्त्रिक समाजका लागि सकारात्मक संकेत भएको उनले बताइन्। युवाहरूको डिजिटल अधिकार, गोपनीयता र नवप्रवर्तनलाई नीति निर्माणमा समेट्दै अघि बढ्ने सरकारको योजना पनि उनले सार्वजनिक गरिन्।

