काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी चुनावबाट भाग्ने भन्ने भ्रम नफैलाउन आग्रह गरेका छन्।
शनिबार पार्टीको एघारौँ महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले डर, दबाब र प्रतिशोधबाट मुक्त वातावरणमा हुने चुनावमा एमालेले बहुमत ल्याउने क्षमता राख्ने दाबी गरे।
उनले भने, “डर, दबाब र प्रतिशोधको छायाबाट मुक्त चुनाव हुँदा बहुमत ल्याउने ल्याकत भएको पार्टी चुनावबाट भाग्छ भन्ने कसैले नसोचे हुन्छ।”
अध्यक्ष ओलीले अहिले चुनाव हुँदैछ भन्ने प्रचार गरेर देशलाई अल्मल्याउने प्रयास भइरहेको आरोप पनि लगाए। उनका अनुसार हाल चुनावको मिति तय भइसकेको छैन र चुनावको विषयमा मात्र चर्चा भइरहेको छ।
“अहिले चुनाव हुँदै छ र ? होइन, चुनाव हुँदै छैन। चुनावको कुरा मात्रै भइरहेको छ, देशलाई अल्मल्याउनका लागि,” उनले भने, “त्यसैले हाम्रो अडान प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्छ भन्ने हो।”

