काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले स्टार्टअप क्षेत्रमा महिलाका लागि बढ्दो अवसरसँगै विद्यमान चुनौती समाधान गर्न राज्य, निजी क्षेत्र, वित्तीय संस्था र समाज सबैको साझा प्रयास अपरिहार्य रहेको बताएका छन्।

नीति रिसर्च प्रा.लि.को आयोजनामा सम्पन्न ‘स्टार्टअपमा महिला : अवसर, चुनौती र आगामी बाटो’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री सिन्हाले पछिल्लो समय कृषि, पर्यटन, सूचना प्रविधि तथा सिर्जनात्मक उद्योगमा महिलाले आफ्नो सीप, ज्ञान र नवीन सोचलाई व्यवसायमा रूपान्तरण गरिरहेको उल्लेख गरे। प्रविधिको पहुँच विस्तारसँगै मोबाइल फोन, इन्टरनेट र आत्मविश्वासले महिलालाई स्थानीय बजारबाट विश्व बजारसम्म पुर्याउन सफल बनाएको उदाहरण प्रशस्त रहेको उनको भनाइ थियो।

अवसरसँगै वित्तीय पहुँचको अभाव, सामाजिक सोच, पारिवारिक जिम्मेवारी र नीतिगत जटिलताजस्ता चुनौती अझै गहिरो रहेको भन्दै मन्त्री सिन्हाले यी समस्या महिलाको क्षमताको कमीका कारण नभई प्रणालीगत कमजोरीका कारण उत्पन्न भएको बताए। त्यसैले महिला उद्यमशीलता प्रवर्द्धन गर्नु सबै सरोकारवालाको साझा दायित्व भएको उनले स्पष्ट पारे।
कार्यक्रममा औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका कार्यकारी निर्देशक उमेश कुमार गुप्ताले स्टार्टअप नीति २०८१ स्वीकृत भएसँगै कानुनी र नीतिगत आधार बलियो बनेको जानकारी दिए।

उनका अनुसार आर्थिक वर्ष २०८०/८१ मा स्टार्टअप कर्जा कार्यक्रमअन्तर्गत १,६५८ जनाले आवेदन दिएकोमा १६५ जनाले कर्जा पाएका थिए, जसमा ८५ जना महिला उद्यमी थिए। आर्थिक वर्ष २०८१/८२ मा कर्जा पाउने संख्या ६ सय पुगेकोमा २३१ जना महिला उद्यमी रहेका छन्।

सरकारले सातै प्रदेशका ७५३ पालिकामा उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्दै आएको र आगामी माघमा स्टार्टअप कर्जाको प्रभावकारिता मूल्यांकन गरिने पनि उनले बताए। साथै ‘स्टार्टअप नेसन २०३०’ अभियानअन्तर्गत सन् २०३० सम्म १० हजार स्टार्टअप प्रवर्द्धन गरी १ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य लिइएको जानकारी गराइयो।
कार्यक्रममा महिला उद्यमी महासंघ नेपालकी पूर्व अध्यक्ष शोभा ज्ञवालीले स्टार्टअप कर्जा ग्रामीण तथा दुर्गम क्षेत्रमा विस्तार गर्न माग गरिन् भने नेपाल महिला चेम्बरकी उपाध्यक्ष आरुश्री शर्मा खतिवडाले वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरू पनि उद्यमशीलतामा आकर्षित भइरहेको अनुभव सुनाइन्।

नीति रिसर्च प्रा.लि.का निर्देशक वासुदेव न्यौपानेले अन्तरक्रियाले महिला उद्यमशीलता प्रवर्द्धन र समावेशी आर्थिक विकासतर्फ महत्वपूर्ण योगदान दिएको बताए।
कार्यक्रममा उठेका धारणा र तथ्याङ्कका आधारमा नेपालमा महिलाका लागि स्टार्टअप अवसर बढ्दै गए पनि संरचनागत चुनौती र जनचेतनाको कमी अझै रहेको निष्कर्ष निकालिएको छ। नीति रिसर्च प्रा.लिले यस्ता कार्यक्रम सातै प्रदेशमा विस्तार गर्ने घोषणा समेत गरेको छ।

