काठमाडौं। सामाजिक सञ्जालमा भ्रमपूर्ण र अपुष्ट समाचार सार्वजनिक हुने प्रवृत्ति बढ्दै जाँदा निष्पक्ष तथा विश्वसनीय पत्रकारितामाथि चुनौती थपिएको सरोकारवालाले बताएका छन्।
नेपाल पत्रकार मञ्चद्वारा आयोजित ‘सामाजिक सञ्जालमा सार्वजनिक हुने समाचारको विश्वसनीयता र यसको प्रभाव’ विषयक अन्तरक्रियामा सहभागी पत्रकारहरूले सनसनीपूर्ण सामग्रीभन्दा तथ्यमा आधारित पत्रकारितालाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका हुन्।
नेपाल पत्रकार मञ्चका अध्यक्ष युवराज विद्रोहीले भ्युज बढाउने उद्देश्यले प्रकाशित अपुष्ट समाचारले पाठक तथा दर्शकमा डर, चिन्ता र अन्योल सिर्जना गर्ने गरेको बताए। उनले तथ्यमा आधारित, सन्तुलित र संवेदनशील पत्रकारिताले जनविश्वास, सामाजिक एकता र सुरक्षालाई मजबुत बनाउने भएकाले पत्रकारिताले आफ्नो सामाजिक दायित्वलाई गम्भीरतापूर्वक लिनुपर्ने धारणा राखे।
कवच तथा अटोमोबाइलका सम्पादक शिरोमणि दवाडीले समाचारभन्दा भ्युजलाई प्राथमिकता दिने प्रवृत्तिले सत्य, तथ्य र विश्वसनीय पत्रकारिताको मान्यता कमजोर बनाएको बताए। उनले स्रोत, तथ्य र तथ्यांकसहितको समाचारलाई मात्र विश्वास गर्न पाठक तथा दर्शकलाई आग्रह गरे।
कार्यक्रममा लाइफ ओके टेलिभिजनका रामप्रसाद पौडेल, प्राइम टेलिभिजनका राजु भण्डारी, पत्रकार रघुनाथ त्रिपाठी, राजीव भट्टराई, श्यामबाबु आचार्य र राजेन्द्र प्रजापतिलगायतले सञ्चारमाध्यम र पत्रकार स्वयंले आफ्नो नैतिकता, जिम्मेवारी र पेशागत आचरणलाई प्राथमिकतामा राखेर विश्वसनीय पत्रकारिता गर्नुपर्नेमा जोड दिएका थिए।

