काठमाडौं । नेपाल पत्रकार महासंघले काठमाडौंका केही सञ्चारगृहको प्रवेशद्वार अगाडि शंकास्पद रूपमा सवारीसाधन राखिएको घटनाप्रति गम्भीर आपत्ति जनाउँदै तत्काल निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ।
महासंघका अध्यक्ष निर्मला शर्मा, वरिष्ठ उपाध्यक्ष दीपक आचार्य र सचिव रमेश खतिवडाको टोलीले सोमबार बिहान कान्तिपुर पब्लिकेशन, अनलाइनखबर र हिमालय टेलिभिजन परिसरको स्थलगत अनुगमन गरेको थियो।
महासंघका अनुसार बिहान ७ बजेदेखि सञ्चारगृहको गेटअगाडि शंकास्पद रूपमा छोडिएका सवारीसाधन दिउँसो २ बजेसम्म पनि नहटाइएकाले र प्रहरी निष्क्रिय देखिएकाले घटनाले थप शंका उत्पन्न गरेको जनाएको छ।
महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने र सञ्चारमाध्यमलाई त्रसित बनाउने कुनै पनि प्रयास स्वीकार्य नहुने स्पष्ट पार्दै यसलाई प्रेस स्वतन्त्रतामाथिको भौतिक आक्रमणको रूपमा व्याख्या गरेको छ।
महासंघले सञ्चारगृहको अवरोध तत्काल हटाई सञ्चारकर्मी र सञ्चारगृहको सुरक्षा सुनिश्चित गर्न तथा घटनाको निष्पक्ष छानबिन गरी संलग्न व्यक्तिलाई कानुनबमोजिम कारबाही गर्न सरकार र सम्बन्धित सुरक्षा निकायसँग जोडदार माग गरेको छ।
साथै, पत्रकारले निर्भीक रूपमा पेशागत दायित्व निर्वाह गर्न पाउने वातावरण सुनिश्चित गर्न र यस्ता घटनाको पुनरावृत्ति हुन नदिन आवश्यक कदम चाल्न पनि महासंघले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।

