काठमाडौं । प्रतिनिधिसभाको अर्को बैठक साउन १४ गते बिहीबार बिहान ११ बजे बस्ने भएको छ। सभामुख डोलप्रसाद अर्यालले बुधबारको बैठकमा अर्को बैठक साउन १४ गते बिहान ११ बजे बस्ने जानकारी गराएका हुन्।
सभामुख अर्यालले आगामी बैठकहरूमा सांसदहरूको अझ सक्रिय भूमिका अपेक्षा गरिएको उल्लेख गर्दै बैठक नभएको अवधिमा आफ्नो निर्वाचन क्षेत्र र जनतामाझ पुग्न आग्रह गरे।
उनले प्रदेश सरकार र स्थानीय तहका अनुभव, समस्या तथा अपेक्षालाई संघीय संसदसम्म जोड्ने नेतृत्वदायी भूमिका सांसदहरूले निर्वाह गर्नुपर्नेमा जोड दिए।
सभामुख अर्यालले तीनै तहका सरकारबीचको सम्बन्धलाई थप सुदृढ बनाउने, जनताका आवाजलाई सदनसम्म पुर्याउने तथा विधेयकमाथि प्रभावकारी बहसका लागि आवश्यक वातावरण तयार गर्न सांसदहरूले नागरिकसँग प्रत्यक्ष संवाद गर्नुपर्ने आवश्यकता रहेको बताए।

