काठमाडौं । सरकारले सोमबारदेखि नयाँ प्रणालीमार्फत राहदानी सेवा वितरण सुरु गर्ने भएको छ। परराष्ट्र मन्त्रालय र राहदानी विभागले आवश्यक तयारी अन्तिम चरणमा पुर्याएका छन्।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार नागरिकलाई सहज, सरल र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले नयाँ प्रणाली कार्यान्वयनमा ल्याउन लागिएको हो। प्रारम्भिक चरणमा केही सामान्य प्राविधिक समस्या आउन सक्ने सम्भावना रहे पनि सेवा सहज बनाउन आवश्यक व्यवस्था मिलाइएको उनले बताए।
नयाँ व्यवस्थाअनुसार छापिएका राहदानी सम्बन्धित जिल्ला तथा इलाका प्रशासन कार्यालयमा छिटो पुर्याउन हुलाक विभागसँग सम्झौता भइसकेको छ।
यस्तै, नागरिकले आफू जहाँ बसेको भए पनि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट राहदानीका लागि आवेदन दिन सक्ने व्यवस्था लागू गर्ने तयारी पनि सरकारले अघि बढाएको छ। यसका लागि आवश्यक प्रक्रिया सुरु भइसकेको मन्त्रालयले जनाएको छ।

