काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विभिन्न सञ्चारमाध्यमका कार्यालयबाहिर पहिचान नखुलेका सवारीसाधन शंकास्पद रूपमा राखिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पार्टीले घटनाको तत्काल निष्पक्ष छानबिन गरी सञ्चारकर्मीको सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग गरेको छ।
रास्वपाका महामन्त्री विपिनकुमार आचार्यद्वारा सोमबार जारी विज्ञप्तिमा सञ्चारमाध्यम र सञ्चारकर्मीलाई मनोवैज्ञानिक दबाबमा राख्ने उद्देश्यले गरिएका यस्ता गतिविधि लोकतान्त्रिक मूल्य–मान्यताविपरीत भएको उल्लेख गरिएको छ।
पार्टीले स्वतन्त्र पत्रकारिता, प्रेस स्वतन्त्रता तथा नागरिकको सुसूचित हुन पाउने मौलिक अधिकारको पक्षमा आफू सधैं दृढ रहेको जनाउँदै कुनै पनि बहानामा सूचना तथा सञ्चार स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने, सञ्चारगृहमा त्रासको वातावरण सिर्जना गर्ने वा चौथो अंगलाई कमजोर बनाउने प्रयास स्वीकार्य नहुने स्पष्ट पारेको छ।
विज्ञप्तिमा स्वतन्त्र र भयरहित पत्रकारितालाई लोकतन्त्रको आधारशिला भन्दै प्रेस क्षेत्रलाई त्रसित बनाउने उद्देश्यका गतिविधिको भर्त्सना गरिएको छ। साथै घटनाको तत्काल, निष्पक्ष र तथ्यपरक छानबिन गरी सञ्चारमाध्यमको भौतिक तथा मनोवैज्ञानिक सुरक्षा सुनिश्चित गर्न तथा संलग्न व्यक्तिलाई कानुनबमोजिम कारबाही गर्न नेपाल सरकार, गृह मन्त्रालय र सम्बन्धित सुरक्षा निकायसँग रास्वपाले माग गरेको छ।
रास्वपाले सञ्चारकर्मी तथा सञ्चारगृहलाई कुनै पनि दबाब वा त्रासबाट प्रभावित नभई सत्यतथ्यमा आधारित पत्रकारितालाई निरन्तरता दिन आग्रह गर्दै प्रेस स्वतन्त्रता र सञ्चारकर्मीको सुरक्षाका पक्षमा पार्टी सधैं प्रतिबद्ध रहने जनाएको छ।

