काठमाडौं । सुरक्षण मुद्रण केन्द्रले लामो समयदेखि छपाइ हुन बाँकी रहेका करिब २९ लाख सवारी चालक अनुमतिपत्र (लाइसेन्स) मध्ये २५ लाख ९२ हजार ४१७ वटा लाइसेन्स छापिसकेको जनाएको छ। यससँगै पुराना लाइसेन्स छपाइको काम अन्तिम चरणमा पुगेको केन्द्रले जानकारी दिएको छ।
केन्द्रका अनुसार बाँकी ३ लाख ७ हजार ५८३ वटा लाइसेन्स एक वर्षभन्दा कम समयावधिका भएकाले नवीकरणपछि मात्रै छापिनेछन्। यातायात व्यवस्था विभागबाट प्राप्त विवरणअनुसार छाप्नयोग्य सबै लाइसेन्सको छपाइ सम्पन्न भइसकेको छ।
पुराना लाइसेन्स छपाइका लागि यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्रबीच २०८२ कात्तिक १२ गते पहिलो चरणमा १२ लाख लाइसेन्स छाप्ने सम्झौता भएको थियो। सो सम्झौताअनुसार २०८३ वैशाख १२ भित्र पहिलो चरणको छपाइ पूरा गरी विभागलाई हस्तान्तरण गरिएको थियो।
त्यसपछि २०८३ वैशाख ४ गते दोस्रो चरणमा १७ लाख लाइसेन्स छाप्ने सम्झौता भएको थियो। उक्त सम्झौताअनुसार २०८३ असार मसान्तभित्र छपाइ सम्पन्न गर्ने लक्ष्य राखिएको थियो, जुन लगभग पूरा भएको केन्द्रले जनाएको छ।
पहिलो चरणमा ३७ हजार ६९८ अत्यावश्यक लाइसेन्स तथा दैनिक राजस्व बुझाएका ३१ हजार २२७ सेवाग्राहीका लाइसेन्स नियमित रूपमा छापिएको थियो। दोस्रो चरणमा पुराना लाइसेन्ससँगै ४ हजार ८८१ अत्यावश्यक लाइसेन्स तथा ट्रायल पास गरेका वा नवीकरणपछि राजस्व बुझाएका २ लाख २९ हजार ९१८ वटा नयाँ लाइसेन्स समेत छापिएको यातायात व्यवस्था विभागले जनाएको छ।

