काठमाडौं । विश्व बैंकले नेपाललाई झन्डै ७ अर्ब रुपैयाँ बराबर ऋण स्वीकृत गरेको छ । नेपाल स्वच्छ वायु र समृद्धि परियोजनाका लागि यो ऋण सहायता स्वीकृत गरिएको विश्व बैंकले जनाएको छ ।
वायु प्रदूषण कम गर्न र वायु गुणस्तर व्यवस्थापन सुदृढ बनाउने परियोजनाको उद्देश्य छ। उद्योग र व्यावसायिक प्रतिष्ठानमा प्रयोग हुने बोयलर र भट्टीबाट निस्कने हानिकारक कण उत्सर्जन कम गर्ने, करिब ४ सय उद्योगलाई विद्युतीय बोयलर, आधुनिक भट्टी वा उन्नत प्रदूषण नियन्त्रण प्रविधि अपनाउन सहयोग गर्ने समेत परियोजनाको लक्ष्य रहेको छ ।
यो परियोजनाको प्राथमिकता बढी वायु प्रदूषण रहेको काठमाडौं उपत्यका, तराई र तल्लो पहाडी भेगमा हुनेसमेत विश्व बैंकले जनाएको छ ।

