दक्षिण अमेरिकी देश भेनेजुएलामा एक मिनेटको अन्तरालमा आएका दुई शक्तिशाली भूकम्पले ठूलो जनधनको क्षति पुर्याएको छ। स्थानीय समयअनुसार बुधबार साँझ ६ बजेर ४ मिनेट र ६ बजेर ५ मिनेटमा क्रमशः ७.२ र ७.५ म्याग्निच्युडका भूकम्प गएको जनाइएको छ। भूकम्प नेपाल समयअनुसार बिहीबार बिहान करिब ४:५० बजे महसुस गरिएको थियो।
सन् १८२१ मा स्पेनविरुद्धको स्वतन्त्रता युद्धमा प्राप्त ऐतिहासिक विजयको स्मरणमा भेनेजुएलामा सार्वजनिक बिदा रहेकाले अधिकांश नागरिक घरमै रहेका बेला भूकम्प गएको थियो। यसले मानवीय क्षति झन् बढ्न सक्ने अनुमान गरिएको छ।
अमेरिकी जियोलोजिकल सर्भे (यूएसजीएस) ले प्रारम्भिक मूल्यांकनमा १० हजारभन्दा बढीको मृत्यु हुने सम्भावना उल्लेख गरेको छ। हालसम्म करिब २ सय जनाको मृत्यु भएको प्रारम्भिक विवरण सार्वजनिक भए पनि मृतक संख्या उल्लेख्य रूपमा बढ्न सक्ने आशंका गरिएको छ।
भूकम्पविद्हरूका अनुसार एक मिनेटभित्र दुई शक्तिशाली भूकम्प आउनु असामान्य घटना हो। डरहम विश्वविद्यालयका प्राध्यापक मार्क एलनले पहिलो भूकम्पले भूमिगत फल्टलाइनमा परिवर्तन ल्याउँदा अर्को फल्टलाइनमा दबाब बढेर तुरुन्तै दोस्रो भूकम्प गएको हुन सक्ने बताएका छन्। उनले आगामी दिनमा थप शक्तिशाली परकम्प आउने जोखिमसमेत औँल्याएका छन्।
दुवै भूकम्प राजधानी कराकसबाट करिब २९० किलोमिटर पश्चिम क्षेत्रमा केन्द्रित भएका थिए। सयौँ घर पूर्ण रूपमा ध्वस्त भएका छन् भने हजारौँ संरचनामा आंशिक क्षति पुगेको छ। कराकस विमानस्थलको भवनको छतको एक भाग खस्दा ठूलो मानवीय क्षति भएको आशंका गरिएको छ।
भेनेजुएलामा पछिल्लो १२६ वर्षयताकै यो सबैभन्दा शक्तिशाली भूकम्प मानिएको छ। यसअघि सन् १९०० मा ७.७ म्याग्निच्युडको भूकम्प गएको थियो भने १९६७ मा आएको ६.६ म्याग्निच्युडको भूकम्पले राजधानी कराकसमा ठूलो क्षति पुर्याएको थियो।
लगातारका भूकम्पपछि कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिग्वेजले राष्ट्रिय संकट घोषणा गरेकी छन्। प्रशासनले क्षतिग्रस्त भवनबाट टाढा रहन र सुरक्षा निर्देशिकाको पालना गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
भूकम्पपछि राजधानी कराकससहित विभिन्न क्षेत्रमा हजारौँ नागरिक खुला आकाशमुनि रात बिताउन बाध्य भएका छन्। भवनहरू भत्किँदा धेरै मानिस अझै भग्नावशेषमा फसेको अनुमान गरिएको छ। उद्धारकर्मीहरू रातभर खोज तथा उद्धारमा खटिए पनि अन्धकार र क्षतिग्रस्त पूर्वाधारका कारण कार्य चुनौतीपूर्ण बनेको छ।
सबैभन्दा बढी असर कराकसको उत्तरी क्षेत्र गुआइरामा परेको जनाइएको छ। सम्भावित ग्यास चुहावट र विस्फोट रोक्न प्रभावित क्षेत्रमा ग्यास आपूर्ति अस्थायी रूपमा बन्द गरिएको छ।
भूकम्पपछि विश्व समुदायबाट सहानुभूति र सहयोगको प्रतिबद्धता आएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राहत तथा उद्धार सहयोगको घोषणा गरेका छन्। ब्राजिल, अर्जेन्टिना, पेरु, मेक्सिको, कोलम्बिया, बोलिभिया, कोस्टारिका र एल साल्भाडोरसहित दक्षिण अमेरिकी राष्ट्रहरूले पनि राहत तथा उद्धारमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
विशेषज्ञहरूका अनुसार भेनेजुएला क्यारेबियन र दक्षिण अमेरिकी टेक्टोनिक प्लेटको सीमामा पर्ने भएकाले भूकम्पीय जोखिम उच्च रहेको देश हो। बुधबारको विनाशकारी भूकम्प पनि यी दुई प्लेटबीचको घर्षणकै परिणाम भएको बताइएको छ।

