काठमाडौं। सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज लिमिटेडको सर्वसाधारणका लागि निष्कासन गरिएको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट सम्पन्न भएको छ।
बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको कार्यालयमा बिहीबार आयोजित कार्यक्रममा आईपीओ बाँडफाँट गरिएको हो।
कम्पनीले जेठ २८ गतेदेखि असार २ गतेसम्म सर्वसाधारणका लागि ७ लाख ५ हजार ५ सय कित्ता साधारण सेयर निष्कासन गरेको थियो। उक्त आईपीओमा २८ लाख ९४ हजार २ सय ३२ जनाले आवेदन दिएका थिए। आवेदनमध्ये २८ लाख ५० हजार २५ जनाको आवेदन योग्य ठहरिएको बिक्री प्रबन्धकले जनाएको छ।
मागभन्दा अत्यधिक आवेदन परेकाले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिकाअनुसार गोलाप्रथा (लक्की ड्र) मार्फत सेयर बाँडफाँट गरिएको हो।
बाँडफाँटअनुसार ७० हजार ५ सय ५० जना आवेदकले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन्। बाँकी योग्य आवेदक भने सेयर पाउनबाट वञ्चित भएका छन्।
यससँगै सर्वोत्तम पेन्ट्सको आईपीओमा आवेदन दिने अधिकांश लगानीकर्ताको हात खाली भएको छ भने करिब २.५ प्रतिशत योग्य आवेदकले मात्र सेयर प्राप्त गरेका छन्।

