रसुवा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितको उद्धार तथा खोजी कार्य नेपाली सेनाले आज रातभर पनि जारी राख्ने भएको छ।
बाढीबाट प्रभावितको संख्या अत्यधिक रहेको र उद्धारका लागि चौतर्फी अपिल भइरहेका बेला सेनाले रातभर जमिनबाटै उद्धार तथा खोजी कार्य सञ्चालन गर्ने जनाएको हो।
सेनाका अनुसार रातभर ११ वटा एक्स टिम परिचालन गरी जमिनबाट उद्धार कार्य जारी राखिनेछ। यस्तै, भोलि बिहान टिमुरेभन्दा माथिल्लो क्षेत्रमा ठूलो संख्यामा रहेका प्रभावितको हवाई उद्धार गरिनेछ। विभिन्न टनेलमा अड्किएका व्यक्तिको उद्धारका लागि समेत निरन्तर प्रयास गरिने सेनाले जनाएको छ।
उद्धार कार्यलाई प्रभावकारी बनाउन थप समन्वयसहित हवाई साधन परिचालन, राहत सामग्री वितरण तथा मित्रराष्ट्रबाट प्राप्त हुने राहत सामग्री प्रभावित क्षेत्रमा पुर्याउन सहयोग गरिने सेनाले जनाएको छ। जमिनमा थप फौज तैनाथ गरी विस्तृत खोज तथा उद्धार गर्नुका साथै अन्य सुरक्षा निकाय, सरोकारवाला संस्था र स्थानीयसँगको समन्वयमा प्रभावितको उद्धार गरिनेछ।
सेनाका अनुसार आज दिनभर १ हजार ६९७ जना फौज उद्धार, खोज तथा राहत कार्यमा परिचालन गरिएको थियो। थप तयारीका लागि ६५६ जना फौज तयारी अवस्थामा राखिएको छ।
आज ६ वटा सैनिक हेलिकप्टरबाट ९४ जना र ५ वटा गैरसैनिक हेलिकप्टरबाट १२ जनाको उद्धार गरिएको सेनाले जनाएको छ। यस्तै, जमिनबाट थप २७ जनाको उद्धार गरिएको छ।
बाढी प्रभावित क्षेत्रमा ८०० केजी टेन्ट र २०० केजी मेडिकल सामग्री पुर्याइएको छ। उद्धारमा खटिएका हेलिकप्टरमार्फत प्रभावितलाई खाना तथा पानीसमेत उपलब्ध गराइएको सेनाले जनाएको छ।
सेनाले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार, खोज तथा राहत कार्यलाई आवश्यकताअनुसार निरन्तरता दिने जनाएको छ।

