काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले खाना पकाउने एलपी ग्यास प्रतिसिलिण्डर २ हजार ६० रुपैयाँभन्दा बढी नलिई बिक्री गर्न व्यवसायीहरूलाई आग्रह गरेको छ।
भोटेकोशी बाढीका कारण पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा सडक अवरुद्ध हुँदा ग्यास आपूर्तिमा समस्या भएपछि संघले भदौ १८ गते प्रेस विज्ञप्ति जारी गर्दै वैकल्पिक बाटोबाट हुने ढुवानीको अतिरिक्त भाडा समायोजन गरी प्रतिसिलिण्डर २ हजार १६५ रुपैयाँ ३८ पैसामा बिक्री वितरण गर्न आग्रह गरेको थियो।
कृष्णभीरमा वैकल्पिक ट्रयाक निर्माण गरी यातायात सञ्चालनमा आएपछि ग्यास ढुवानी सहज भएकाले संघले पुनः प्रतिसिलिण्डर २ हजार ६० रुपैयाँमै बिक्री गर्न आग्रह गरेको हो।
संघले सम्पूर्ण ग्यास बिक्रेताहरूलाई उक्त मूल्यभन्दा बढी नलिई उपभोक्तालाई बिक्री वितरण गर्न सूचित गरेको छ।

