काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध अर्को मुद्दा सर्वोच्च अदालतमा दर्ता भएको छ। सांसद हुन रविको अयोग्यतासम्बन्धी सिन्धुलीका युवराज पौडेल सफलले हालेको रिट सर्वोच्च अदालतले दर्ता गरिदिएको हो।
यसअघि सर्वोच्च अदालत प्रशासनले दरपीठ गरिदिएको उक्त रिटलाई न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजालसले दर्ता गर्न आदेश दिएको हो। यो आदेशसँगै न्यायाधीश श्रेष्ठले आगामी जेठ १७ गतेका लागि पेशी समेत तोकेका छन्।
रविको सांसद पदको अयोग्यतासम्बन्धी रिट गत वैशाख २५ गते सर्वोच्च अदालतमा पेश भएको थियो। तर अदालतका रजिष्टार नारायण प्रसाद पन्थीले वैशाख २८ गते यो निवेदनलाई दरपीठ गरिदिएका थिए।
दरपीठ गर्ने पन्थीको निर्णयविरुद्ध पौडेलले यही जेठ १ गते आदेश माग्दै निवेदन पेश गरेका थिए। न्यायाधीश श्रेष्ठको एकल इजलासबाट दरपीठ आदेश बदर गर्दै मंगलबार दर्ता गर्न आदेश दिएको थियो। उनको आदेशसँगै बुधबार उक्त रिट दर्ता भएको छ।