काठमाडौं । देशका ६ वटै महानगरपालिकाहरुले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक भएको छ । ६ वटै महानगरपालिकाले ल्याएको कुल बजेट ५१ अर्ब ९९ करोड रुपैयाँको छ । महानगरपालिकाहरुले ल्याएको बजेटमा शहरी पूर्वाधारलाई प्राथमिकता दिएको देखिन्छ ।
काठमाडौं महानगरपालिकाले २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँको बजेट विनियोजन गरेको छ ।
आइतबार राष्ट्रिय सभागृहमा काठमाडौं महानगरका उपप्रमुख एवं बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक सुुनिता डंगोलले सार्वजनिक गरेको बजेटमा चालुतर्फ रु आठ अर्ब ६१ करोड ५३ लाख २८ हजार र पुँजीगततर्फ १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ । कामपाले चालु आवका लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ रुपैयाँ बजेट विनियोजन गरेको थियो । चालु आवको तुलनामा आगामी आवको बजेट करिब रु १४ करोडले बढी हो ।
आगामी आवको बजेटमा स्वास्थ्य, शिक्षालाई र पूर्वाधारलाई प्राथमिता साथ बजेट विनियोजन गरिएको छ ।
यसैबीच ललितपुर महानगरपालिकाले ६ अर्ब ५० करोड ५ लाख ८८ हजार रुपैयाँको बजेट ल्याएको छ । आइतबार भएको नगर सभामा उपमेयर मन्जली शाक्य बज्राचार्यले महानगरपालिकाको आगामी वर्षको आयव्ययको प्रक्षेपण पेस गरेकी हुन् । उनका अनुसार आगामी वर्ष महानगरपालिकाले ६ अर्ब ५० करोड ५ लाख ८८ हजार रूपैयाँ बराबरको आम्दानी गर्नेछ ।
उनले पुँजीगततर्फ ४ अर्ब २१ लाख ४६ हजार रुपैयाँ र चालुतर्फ २ अर्ब ४९ करोड ८४ लाख ४२ हजार रुपैयाँ विनियोजन गरेको बताइन् । महानगरपालिकाले सडक पुर्वाधार, सम्पदा, हरियाली पार्क निर्माण, एक वडा एक उद्यान, हरेक वडामा सार्वजनिक शौचालय निर्माण, अपाङ्गतामैत्री फुटपाथ निर्माण लगायत कार्यक्रमहरुलाई प्राथमिकतामा राखेको छ ।
मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगञ्ज महानगरपालिकाले तीन अर्ब २१ करोड ३५ लाख ४४ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । महानगरपालिकाको १३ औँ अधिवेशनमा नगरप्रमुख राजेशमान सिंहले चालुतर्फ दुई अर्ब ४८ करोड ८५ लाख पाँच हजार तथा पूँजीगततर्फ ६८ करोड ८७ लाख १५ हजार रुपैयाँ र वित्तीय व्यवस्थातर्फ तीन करोड ६३ लाख २४ हजार रुपैयाँ विनियोजन गरिएको जानकारी दिए । आगामी आर्थिक वर्षका लागि अनुगमन गरिएको खर्च ब्यहोर्ने स्रोतहरुमध्ये आन्तरिक राजस्वबाट एक अर्ब २० करोड ४४ लाख ३० हजार, नेपाल सरकारको वित्तीय हस्तान्तरणबाट रु एक अर्ब ३३ करोड २१ लाख, संघीय राजस्व बाँडफाँटबाट २५ करोड २४ लाख ७० हजार र प्रदेश वित्तीय हस्तान्तरणबाट रु चार करोड ४५ लाख ९५ हजार एवं प्रदेश राजस्व बाँडफाँटबाट दुई करोड ८७ लाख ब्यहोरिने जनाएको छ । चालु आर्थिक वर्ष २०७९÷८० मा कूल रु तीन अर्ब ४४ करोड ३४ लाख चार हजार विनियोजन रहेकामा विनियोजनको ७१ प्रतिशत खर्च हुने संशोधित अनुमान छ । सोमध्ये चालु खर्च दुई अर्ब १५ करोड अर्थात् ४८ प्रतिशत पूँजीगत खर्च एक अर्ब अर्थात् विनियोजनको २३ प्रतिशत खर्च हुने संशोधित अनुमान रहेको महानगरप्रमुख सिंहले बताए ।
यसैबीच भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०८०÷८१ का लागि रु ६ अर्ब ३१ करोड ७९ लाख ९० हजार बजेट प्रस्तुत गरेको छ । महानगरको १३ औँ नगरसभामा नगर उपप्रमुख चित्रसेन अधिकारीले सो रकम बराबरको बजेट प्रस्तुत गरेका हुन् ।
भरतपुर महानगरको आन्तरिक आयतर्फ एक अर्ब ७५ करोड, अन्तरसरकारी वित्तीय हस्तान्तरबाट एक अर्ब ८३ करोड ९९ लाख ७५ हजार, केन्द्र तथा बागमती प्रदेश सरकारको राजस्व बाँडफाँटबाट प्राप्त ५४ करोड ८० लाख १५ हजार, जनसहभागिताबाट ५० करोड, बैैंक मौजाद एक अर्ब ६५ करोड, सडक बोर्ड नेपालबाट तीन करोड रुपैयाँ रहने प्रक्षेपण गरिएको छ । अन्तरसरकारी अख्तियारी शीर्षकमा अनुमानित रु एक अर्ब १० करोड रहने प्रक्षेपण गरिएको अधिकारीले नगरसभामा जानकारी दिए ।
चालु आर्थिक वर्षमा निर्माण सम्पन्न हुन नसकेका तथा भुक्तानी बाँकीमा रहेका र क्रमागत एवं बहुवर्षीय ठेक्का भएका योजनाहरु समयमै सम्पन्न गर्न एकमुष्ट एक अर्ब ६५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
हरेक वडाको समानुपातिक विकासका निम्ति सम्बन्धित वडास्तरबाट नै कार्यक्रम कार्यान्वयन हुने व्यवस्था मिलाइने छ । यसरी कार्यान्वय हुने योजनाहरुका लागि प्रत्येक वडाका लागि दुई करोड ७५ लाख रुपैयाँको दरले जम्ममा ७९ करोड ७५ लाख रुपैयाँ प्रस्ताव गरिएको छ ।
विराटनगर महानगरपालिकाले तीन अर्ब २८ करोड ५० लाख बराबरको बजेट सार्वजनिक गरेको छ । महानगरको १२औँ नगरसभामा आइतबार उपप्रमुख शिल्पा निराला कार्कीले बजेट प्रस्तुत गरेकी हुन् ।
कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ रु ६८ करोड, पूर्वाधार विकास क्षेत्रतर्फ रु एक अर्ब ६५ करोड ५५ लाख ७५ हजार, आर्थिक विकास क्षेत्रतर्फ रु तीन करोड ९६ लाख ८१ हजार, सामाजिक विकास क्षेत्रतर्फ रु ८५ करोड २० लाख ४४ हजारमध्ये स्वास्थ्यतर्फ रु १३ करोड ६७ लाख र शिक्षातर्फ रु ६७ करो ९४ लाख, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रतर्फ रु तीन करोड पाँच लाख र वातावरण तथा विपद् व्यवस्थापनतर्फ रु दुई करोड ७२ लाख विनियोजन गरिएको छ ।
आगामी वर्ष सञ्चालन हुने मुख्य आयोजनाहरुमा वडास्तरीय आयोजनाका लागि रु ३८ करोड, नगरस्तरीय आयोजनाका लागि रु २० करोड, वहुवर्षीय तथा गौरवका आयोजना एवं क्रमागत योजनाको भुक्तानीका लागि रु ६५ करोड, आरयुडिपीबाट निर्माण भएका पिच सडकहरु समेत गरी मर्मतसम्भार रु १० करोड, सडक बत्तीतर्फ रु एक करोड ५३ लाख ७५ हजार अन्य पूर्वाधारतर्फ रु २६ करोड ३७ लाख, फोहर पानी प्रशोधन केन्द्र रु दुई करोड ६५ लाख र समपुर कोषका लागि रु दुई करोड विनियोजन भएको छ ।
यसैबीच पोखरा महानगरपालिकाले ७ अर्ब १५ करोड १५ लाख १७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आइतबार पोखरा महानगरको १३ औं नगर सभामा नीति तथा कार्यक्रम पास भएसँगै महानगर उपप्रमुख मन्जुदेवी गुरुङले आगामी आर्थिक वर्षको लागि बजेट सार्वजनिक गरेकी हुन् । सार्वजनिक गरिएको बजेटमा संघीय सरकारको अनुदानबाट २ अर्ब ७६ करोड ३२ लाख रुपैयाँ, प्रदेश सरकारबाट १० करोड २३ लाख ६२ हजार, आन्तरिक आयबाट २ अर्ब २७ करोड ८७ लाख व्यहोरिने उल्लेख छ ।
महानगरले चालु आर्थिक वर्षको लागि ८ अर्ब ९९ करोड २ लाख २९ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो । असार ८ गतेसम्म ३ अर्ब ८५ करोड ८४ हजार खर्च भई ४३ प्रतिशत प्रगति हासिल गरिएको उल्लेख गर्दै असार मसान्तसम्म ७० प्रतिशत खर्च हुने अनुमान महानगरपालिकाले गरेको छ । महानगरले भौतिक पूर्वाधार, सहरी विकास, पर्यटन पूर्वाधार वातावरण लगायतका पूर्वाधार विकास कार्यक्रमका लागि २ अर्ब ७० करोड छुट्टाएको छ ।