काठमाडौं । अर्बौं रकम हिनामिना गरेको आरोप लागेका शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका पूर्वअध्यक्ष केदारनाथ शर्मा भारतबाट पक्राउ परेका छन् ।
निक्षेपकर्ताको १४ अर्बभन्दा बढी रकम हिनामिना गरेको उनीमाथि आरोप लागेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनलाई भारतको मुम्बईबाट पक्राउ गरेको प्रहरी स्रोतले बतायो । मुम्बईबाट पक्राउ गरी शर्मालाई सोमबार नेपाल ल्याइएको हो । उनी मुम्बईमा लुकिछिपी बस्दै आएका थिए ।
निक्षेपकर्ताले आफ्नो रकम फिर्ता नपाएपछि सहकारी विभाग र प्रहरीमा उजुरी दिएका थिए ।
भक्तपुरमा रहेको शिव शिखर कृषि सहकारी र शिखर दीप बहुउद्देश्यीय सहकारीबीच २०७७ सालमा मर्ज भएको थियो । त्यसपछि शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको नामबाट सञ्चालनमा रहेको संस्थाले निक्षेपकर्तालाई पैसा फिर्ता दिन सकेको थिएन ।
यसले देशभर नेटवर्क बनाउने भन्दै विभिन्न जिल्लामा शाखा विस्तार गरेको थियो । संस्थाले देशका विभिन्न स्थानमा ‘गार्डेन मार्ट डिपार्टमेन्टल स्टोर्स’ समेत चलाएको थियो । शर्माले मोरङमा तुलसी सहकारी संस्था पनि खोलेका थिए । शिव शिखरमा निक्षेप राखेका एक लाखभन्दा बढी पीडित छन् ।