राजेन्द्र प्रजापती
काठमाडौं । चार नगरपालिका र चार गाउँपालिका रहेको लमजुङका ८ वटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि बजेट सार्वजनिक गरी सकेका छन् । विशेष गरी ८ वटै स्थानीय तहले कृषि, पर्यटनलाई विशेष प्राथमिकता दिएको देखिन्छ ।
कुनको बजेट कति ?
बेसिशहर नगरपालिका
बेसिशहर नगरपालिकाले ७६ करोड ७२ लाख ६० हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । दोस्रो नगरसभाको तेस्रो अधिवेशनमा उपप्रमुख पद्मा गुरुङले नीति तथा कार्यक्रमसहित बजेट प्रस्तुत गरेकी थिइन् ।
बजेटमा चालुतर्फ ४५ करोड ३३ लाख र पुँजीगत तर्फ ३१ करोड ३९ लाख ६० हजार रहेको छ । संघीय र प्रदेश समानिकरण अनुदानबाट १५ करोड ११ हजार, संघीय र प्रदेश राजस्वबाट १२ करोड ५४ लाख १३ हजार, आन्तरिक आय र स्थानिय राजस्वबाट ११ करोड २६ लाख ३६ हजार, संघीय र प्रदेश सशर्त तर्फ ३१ करोड ७७ लाख, संघीय र प्रदेश समपूरक विशेषतर्फ ३ करोड ५० लाख र अन्य तर्फ कुल २ करोड ६५ लाख अनुमानित बजेट रहेको छ ।
नगरपालिका आगामी वर्षका लागि विषयगत क्षेत्रको अनुमानित बजेट पनि प्रस्ताव गरेको छ । प्रस्तावित बजेट अनुसार आर्थिक विकास तर्फ ६ करोड ५५ लाख, सामाजिक विकास तर्फ ३५ करोड ११ लाख, भौतिक पूर्वाधार विकास तर्फ १८ करोड ३३ लाख ६० हजार बजेट प्रस्ताव गरेको छ ।
वातावरण तथा विपदव्यवस्थापन तर्फ १ करोड ४० लाख र संस्थागत विकास, सेवा प्रवाह र सुशासन तर्फ १५ करोड गरि ७६ करोड ७२ लाख ६० हजार रुपैयाँ बराबरको अनुमानित बजेट प्रस्ताव गरिएको छ ।
चालु आर्थिक वर्षको स्वीकृत बजेट भन्दा आगामी आर्थिक वर्षमा ८० लाख ४३ हजार कम बजेट प्रस्ताव गरिएको गुरुङले बताइन् । चालु तर्फ आर्थिक वर्षको तुलनामा आगावी वर्षको बजेट ३ करोड ४० लाख वृद्धि भएको नगर प्रमुख गुमानसिंह अर्यालले बताए । पुँजीगत तर्फ ४ करोड २० लाख ४३ हजारले न्यून रहेको छ ।
सुन्दरबजार नगरपालिका
सुन्दरबजार नगरपालिकाले नीति तथा कार्यक्रममा नगरको गौरवका योजनाको रुपमा बहुउद्देश्यीय सिटी हल, बस पार्क निर्माण तथा हाँडेटार सिञ्चाई मर्मतलगायतका योजनालाई अघि बढाइने उल्लेख गरेको छ । पूर्वाधार, कृषि, शिक्षा, स्वासथ्यलगायतका विषयवस्तु नीति तथा कार्यक्रममा समेटिएका छन् ।
नगरपालिकाले ८८ करोड ५९ लाख रकम खर्च हुने अनुमान गरिएको छ । जसमध्ये चालुतर्फ ४७ करोड ६ लाख ५० हजार र अनुमागित पूँजीगत खर्च तर्फ ४१ करोड ५२ लाख ५० हजार बजेट रहेको छ । वडालाई ६ करोेड ५ लाख वजेटको छुट्टाएको नगरपालिकाले प्रत्येक वडालाई समानुपालिका रुपमा ४० लाखका दरले विनयोजन गरिनेछ । सो वाहेक जनसंख्या, भुगोल र र नगरपालिकामा जम्मा हुने राजश्वको आधारमा बजेट विनियोजन गरिने नगरपालिकाले जनाएको छ ।
मध्यनेपाल नगरपालिका
यस नगरपालिकाले ‘समृद्ध मध्यनेपाल, सुखी मध्यनेपालवासी’ भन्ने नारासहत आर्थिक समृद्धिलाई विकासको मूल आधार बनाएर नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ।
नगरपालिकाले कृषि उपज तथा कृषिजन्य उत्पादनमा आत्मनिर्भरताका लागि उद्यमशिलताको पर्वद्धन गर्ने नीति लिएको छ ।
बाँझो जमीनको एकीकृत तथ्यांक संकलन गरेर भूमि बैंकको अवधारणा ल्याएर कार्यान्वयन गर्ने नीति मध्यनेपालले लिएको छ ।
विदेश छोडेर स्वदेश फर्केका युवालाई रोजगारीका लागि सीप प्रदान गर्न रोजगार सूचना केन्द्रको अद्यावधिक गरी रोजगारदातासंगको समन्वयमा रोजगार प्रदान गर्ने नीति लिएको छ ।
राइनास नगरपालिका
यस नगरपालिकाले ९ पुष्ठको नीति तथा कार्यक्रम अगाडि सारेको छ । जसमा कृषिमा व्यावसायीकरण, आधुनीतिकरण, दीगो र गुणस्तरीय पूर्वाधार, स्वास्थ्य, शिक्षा, खानेपानीमा सवैको पहुँच, उत्पादन र रोजगारी प्रवद्र्धन मार्फत गरिबी निवारणलाई प्राथामिकता राखिएको छ ।
दोर्दी गाउँपालिका
दोर्दी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ५१ करोड ७४ लाख ५६ हजार रुपैयाँ बजेट ल्याएको छ । दोस्रो गाउँसभाको तेस्रो अधिवेशनमार्फत गाउँपालिकाका उपाध्यक्ष विच्छबहादुर घलेले उक्त बजेट प्रस्तुत गरेका हुन् ।
बजेटमध्ये संघीय सरकारबाट गाउँपालिका वित्तीय समानिकरण अनुदान ८ करोड २४ लाख, सशर्त अुदान २५ करोड ४८ लाख, राजस्व बाँडफाँड तर्फ ९ करोड १४ लाख ६९ हजार, संघ समपुरक अनुदान तर्फ ३ करोड १० लाख, संघ विशेष अनुदान तर्फ १ करोड ८० लाख, प्रदेशबाट गाउँपालिका वित्तिय समानिकरण तर्फ १ करोड ९ लाख ९८ हजार, प्रदेश राजस्व बाडफाँड तर्फ, ७५ लाख ८९ हजार, प्रदेश समपुरक अनुदान तर्फ ६० लाख, प्रदेश विशेष अनुदान तर्फ ४० लाख, आन्तरिक आय तर्फ ४० लाख अनुमानित बजेट पेश गरिएको छ ।
“दोर्दीको आधार, समृद्ध पालिका–सुशासन कृषि, पर्यटन र रोजगार” भन्ने नाराका साथ आगामी वर्षको नीति कार्यक्रम गाउँपालिका अध्यक्ष युवराज अधिकारीले प्रस्तुत गरेका थिए । उनले पालिकाभित्रका रहेका आर्थिक विपन्न नागरिकको लागि स्वास्थ्य बीमा गर्ने नीति अवलम्बन गरिने बताए ।
त्यस्तै, जनतासँग प्रत्यक्ष सम्बन्ध र संम्पर्क राख्ने वडा कार्यालयको क्षमता विकास स्रोत साधनमा वृद्धि र प्रणालिको विकास गर्ने नीति अवलम्बन गर्न प्रस्ताव गरिएको छ । सेवाग्राीले सहज र सरल स्रोत प्राप्त गर्ने हकलाई सुनिश्चित गर्न सूचना प्रविधिको उच्चतम प्रयोग गर्न जरुरी रहेको र यस्तै विषयलाई प्राथमिकतामा राखेर नीति कार्यक्रम प्रस्तुत गरिएको उनको भनाइ छ ।
त्यस्तै एक वडा एक कृषि उत्पादन कार्यलाई, अगाडी बढाउँदै लौजाने नीति ल्याएको छ । कृषि योग्य जमिन बाँझो छाड्ने प्रवृत्तिलाई निरुत्साहित गर्न फलफुल खेति कार्यक्रमलाई प्रभावकारी ढंगले अगाडि बढाउने उनले बताए । उनका अनुसार जलवायु मैत्री, आधुनिक तथा वैज्ञानिक कृषि, तथा पशुपालन र करार खेतिका अवसरहरु पहिचान गरि कृषकहरुलाई अधिकतम लाभ दिने व्यवस्था ल्याएको छ ।
गाउँपालिका अध्यक्ष अधिकारीले प्रस्तुत गरेको उक्त नीति तथा कार्यक्रममा धार्मिक, साँस्कृतिक, ऐतिहासिक तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण क्षेत्रको विकास गरिने, पर्यटकिय विकासको सम्भावनालाई मध्यनजर गर्दै होमस्टे प्रवर्दन गरिने उल्लेख गरिएको छ । पर्यटकीय क्षेत्रको प्रचार प्रसार गरि पर्यटकिय स्थलहरुमा आन्तरिक तथा बाह्य पर्यटक आकर्षण गर्ने नीति ल्याएको छ ।
दूधपोखरी गाउँपालिका
यस गाउँपालिकाले कृषि र पर्यटनलक्षित नीति तथा कार्यक्रम ल्याएको छ । युवालाई कृषिमा आत्मनिर्भर बनाउन युवा स्वरोजगार र युवा लक्षित कार्यक्रम संचालन गर्ने नीति दूधपोखरी गाउँपालिकाले लिएको छ ।
रैथाने बाली कोदो तथा फापरको विस्तारका लागि खाद्यान्नमा आत्मनिर्भरताको नीति अबलम्बन गरिने, एक घर एक बहुपोषणयुक्त करेसाबारे कार्यक्रम अघि बढाइने, विषादी प्रयोगलाई निरुत्साहित गरी अर्गानिक खेती विस्तारमा जोड, सडक स्तरोन्नतिबाहेक नयाँ ट्रयाक खोल्न बन्द गरिने नीति गाउँपालिकाले लिएको छ ।
क्व्होलासोथार गाउँपालिका
क्व्होलासोंथार गाउँपालिकाले कृषि तथा पशुपालन क्षेत्रको आधुनिकीकरण र यान्त्रीकरण गरी जनताको आय स्तर वृद्धि गर्ने नीति लिएको छ । प्राकृतिक रूपमा पाइने जडिवुटीको संरक्षण गर्दै जडिबुटी नर्सरी तथा खेती प्रणालीमा जोड दिने नीति अबलम्बन गरिएको छ ।
अध्यक्ष सूर्यप्रसाद गुरुङका अनुसार पर्यटनको विकासलाई आर्थिक मेरुदण्डको रुपमा विकास गर्नका लागि पर्यटनमैत्री बातावरण निर्माण गरी पूर्वाधारहरुको निर्माण गर्दै लगिन, पदमार्ग निर्माण गरिने भएको छ । शैक्षिक गुणस्तरमा एकरुपता ल्याउनका लागि विद्यालयहरुको बार्षिक परीक्षालाई पालिका स्तरमा संचालन गरिने, विद्यालयहरुमा संचालन गरिएको अंग्रेजी माध्यमको पठनपाठनलाई थप प्रभावकारी बनाइने नीति लिइएको छ ।
मर्स्याङ्दी गाउँपालिका
यस गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८०÷८१ का लागि ५२ करोड ४८ लाख ४५ हजार ९४२ रूपैयाँको अनुमानित बजेट सार्वजनिक गरेकोछ।
बजेटको स्रोत संघीय सरकारको वित्तीय समानीकरण अनुदान ८ करोड ३६ लाख, प्रदेश सरकारको वित्तीय समानीकरण अनुदान १ करोड ४ लाख ७५ हजार, संघ सरकारको राजस्व बाँडफाँटअन्तर्गत ९ करोड ९९ लाख २९ हजार, प्रदेश सरकारको राजस्व बाँडफाँटबाट ८७ लाख ७५ हजार, आन्तरिक राजस्वतर्फ १ करोड, संघीय सरकारको सशर्त अनुदानबाट २४ करोड ८९ लाख, संघ सरकारको विशेष अनुदानतर्फ ८० लाख, संघ सरकारको समपूरक अनुदानतर्फ ५० लाख, प्रदेश सरकारको विशेष अनुदानतर्फ ६० लाख र प्रदेश समपूरक अनुदान ५० लाख रहेको छ।
यसैगरी, जलविद्युत् रोयल्टीबापत ३ करोड २९ लाख, पर्वतारोहणबापत प्राप्त रोयल्टी ३ लाख, वन पैदावर रोयल्टी १ लाख २० हजार ३ सय, गरिबसँग विश्वेश्वर कार्यक्रमतर्फ ४ लाख ६५ हजार, प्रदेश तथा स्थानीय क्षमता विकास कार्यक्रमतर्फ ३ लाख ८० हजार ९४२ र अघिल्लो अनुमानित नगद मौज्दात ५९ लाख रहेको छ। प्रस्तुत बजेटमा चालू खर्च ७ करोड ४१ लाख र पुँजीगत खर्च १८ करोड १० लाख रूपैयाँ छुट्याइएको प्रमुख प्रशासकीय अधिकृत ताराबहादुर तामाङले जानकारी दिए।
बजेटमा कृषि, पशुपंक्षी तथा जडिबुटी क्षेत्रमा उत्पादन र उत्पादकत्व बृद्वि र बजारीकरण गर्न २ करोड २५ लाख, जडिबुटी विकास तथा प्रशोधनका लागि ५० लाख, सीप तथा क्षमता विकास तालिमका लागि २० लाख विनियोजन गरिएको छ। त्यसैगरी, शिक्षाको विकासका लागि २ करोड, विपन्न, दलित, आदिवासी जनजाति बालबालिकाको प्राविधिक तथा उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्न ५ लाख बजेट विनियोजन गरिएको छ। स्वास्थ्यतर्फ १ करोड, एकल पुरूष सामाजिक सुरक्षा भत्ताका लागि १० लाख, सडक मर्मतसम्भारका लागि ३० लाख, ग वर्गका अपांगता भएका ब्यक्तिको सामाजिक सुरक्षा भत्ताका लागि १० लाख विनियोजन गरिएको छ।
नयाँ सडक निर्माण तथा स्तरोन्नतिका लागि आफ्नै एक्साभेटर खरिद गर्न १ करोड २० लाख छुट्याइएको छ। वडागत विशेष योजनाहरूलाई सम्बोधन गर्न ९० लाख र साना योजनाका लागि ५० लाख विनियोजन गरिएको छ । ग्रामीण तालिम केन्द्रको जग्गा खरिदका लागि २० लाख, सहिद तथा बेपत्ता स्मृति अध्ययन केन्द्रमा पुस्तकालय स्थापनाका लागि ३ लाख बजेट विनियोजन गरिएको छ। वडाबाट छानिएका गाउँवस्तीका योजनामा ६ करोड, संघ तथा प्रदेश सरकारको साझेदारीमा गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि १ करोड २० लाख बजेट विनियोजन गरिएको छ।