काठमाडौं । घुस लेनदेनमा संलग्न भएको ठहर गरी गृह मन्त्रालयले नेपाल प्रहरीका डिएसपी ठगबहादुर केसीलाई बर्खास्त गरेको छ। प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले उनलाई मंगलबार बर्खास्त गर्ने निर्णय गरेको हो।
गत ११ पुसमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)बाट खटिएको टोलीले उनको निवासबाट ३५ तोला सुन र स्रोत नखुलेको रकम बरामद गरेको थियो। त्यति वेला उनी इलाका प्रहरी कार्यालय बुटवलको प्रमुख थिए।
बुटवलका एक व्यवसायीको सुन अनुसन्धानका नाममा बरामद गरी उनले १५ लाख घुस मागेको उजुरीका आधारमा प्रहरी प्रधान कार्यालयले छानबिनका लागि गोप्य टोली खटाएको थियो। कास्कीमा सरुवा भएर रमाना लिने दिनमा त्यसरी उनी रंगेहात पक्राउ परेका थिए।
प्रहरी प्रधान कार्यालयले गरेको छानबिनमा उनले गम्भीर किसिमको अनुचित कार्य गरेको निष्कर्ष निकाली कानुनी कारबाहीको सिफारिस गरेको थियो। जसअनुसार उनी बर्खास्त भएका हुन्। उनी पुसदेखि नै निलम्बनमा थिए।