काठमाडौं । ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका २२ जनामाथि अनुसन्धान गर्न प्रहरीले थप पाँच दिनको म्याद पाएको छ । उनीहरूलाई बुधबार जिल्ला अदालत काठमाडौँमा पेश गरिएकामा अदालतले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न समय दिएको सिआइबीले जनाएकाे छ ।
सिआइवीले उनीहरूसँग अहिले बयान लिने काम जारी राखेको छ । उक्त घटनामा प्रहरीले विगत एक महिनादेखि अनुसन्धान गरिरहेको छ । कीर्ते तथा संगठितरूपमा सरकारी जग्गा हिनामिना गरेको आरोपमा यसअघि पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्वसरकारी कर्मचारी धर्मप्रसाद गौतम र गोपाल कार्कीलगायत २२ जना पक्राउ परेका थिए ।
ललिता निवास प्रकरणमा यसअघि तीन सय जनालाई प्रतिवादी बनाएर ब्यूरोले जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो तर सरकारी वकिलको कार्यालयले थप अनुसन्धान गर्नुपर्ने जनाउँदै फाइल फिर्ता पठाएपछि ब्यूरोले पुनः अनुसन्धान थालेको हो ।