काठमाडौं । दुधकोशी माथिको बेलिब्रिज पुनर्निर्माणको माग गर्दै सोलुखुम्बुका ३ स्थानीय तहका प्रमुखहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापन पत्र बुझाएका छन् ।
थुलुङदुधकोशी गाउँपालिका अध्यक्ष असिम राईको समन्वयमा सोताङ गाउँपालिका अध्यक्ष खिलराज बस्नेता र महाकुलुङ गाउँपालिका अध्यक्ष सुर्य कुलुङसहितको टोलीले प्रधानमन्त्री दाहाललाई भेटेर तत्काल पुल निर्माण गरिदिन संघीय सरकारसँग माग गरेका हुन् ।
प्रधानमन्त्री कार्यालय सिहंदरबारमा मुलकका कार्यकारी प्रमुखलाई भेट्दै जिल्लाका ३ स्थानीय सरकार प्रमुखले पुल अभावमा २ वटा पालिकासँग सडक सन्जाल नै टुटेको र हजारौ नागरिक प्रभावित भएको भन्दै पुल निर्मार्णको माग गरे ।
भेटकै क्रममा प्रधानमन्त्री प्रचण्डले पुल निर्माणको काम तत्काल थाल्न भौतिक योजना मन्त्रिलाई निर्देशन दिएका छन् । प्रधानमन्त्रीले आफुहरुकै अगाडि भौतिक मन्त्रिलाई फोन गरेर तत्कालै पुल बनाउन निर्देशन दिनु भएको थुलुङदुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले बताए ।
प्रधानमन्त्री कार्यालयले भौतिक पूर्वाधार मन्त्रालयलाई पुल बनाउने काम थाल्न पत्र नै लेखेको छ । प्रधानमन्त्रीले गम्भिरता पुर्वक लिएकाले पुल निर्माण कार्य चाँडै शुरु हुने महाकुलुङ गाउँपालिका अध्यक्ष कुलुङको विश्वास छ ।
सोलुखुम्बुको दिप्लीघाटस्थित दुधकोशी नदी माथिको पुल बाढिले बगाएपछि पुन बेलिब्रिज तत्काल निर्माण गर्न भन्दै त्यहाँका जनप्रतिनिधिहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका छन् ।
भत्कीएको पुलका बारेमा जानकारी लिँदै प्रधानमन्त्री पुष्पकमल दाहालले तत्काल पुनः निर्माण सुरु गर्न भौतिक तथा पूर्वाधार मन्त्री प्रकाश ज्वालालाई निर्देशन दिएका छन् ।