१३ भदौ । चीनले नेपालको नयाँ चुच्चे नक्सा स्वीकार नगरेको भन्दै काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले चीन भ्रमण रद्द गरेका छन् ।
केही दिन पहिले चीनको प्राकृतिक स्रोत मन्त्रालयले नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई भारतको क्षेत्रमा देखाएर नक्सा प्रकाशन गरेको भन्दै मेयर शाहले असन्तुष्टि जनाएका छन् । नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनुलाई हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदमका रूपमा लिएको मेयर बालेन्द्र शाहको भनाइ छ ।
चीनको कदमको विरोधमा आज बिहीवारदेखि हुने भनिएको पाँच दिने चीन भ्रमणमा नैतिकताको आधारमा नजाने निर्णय गरेको उनले उल्लेख गरे । नेपालले २०७७ साल जेठ ७ गते लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेको थियो ।