जनक श्रेष्ठ
लमजुङ । लमजुङमा चाडपर्व लक्षित अनुगमन तीव्र बनाइएको छ । सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयालको नेतृत्वमा केही दिनयता यता दैनिक जसो जिल्लाका विभिन्न बजारमा अनुगमन तीव्र बनाइएको हो ।
अनुगमनका क्रममा मंगलार जिल्लास्थित दोर्दी गाउँपालिका वडा नं. ४ नौथर शेरा बजारमा अनुगमन गरिएको छ । पर्यटन तथा पर्यटन तथा उद्योग कार्यालय लमजुङका प्रमुख मिताकुमारी थापाका अनुसार सो क्षेत्रका किराना पसल, औषधी पसल, फेन्सी, तरकारी, कस्मेटिक, मासु पसल लगायतका गरी १९ वटा पसलमा अनुगमन गरिएको थियो । अनुगमनमा क्रममा ६ वटा पसल विना दर्ता भेटिएको छ । त्यस्तै, अधिकांश पसलहरु नियमविपरित भेटिएको थियो । विभिन्न सामग्री म्याद सकिएको इजाजत पत्र नभएको, होडिङ बोर्ड, विभिन्न आवश्यक कागजात समेत नभएको भेटिएको बताइएको छ । नियम विपरित पसल सञ्चालन गर्ने सञ्चालकहरुलाई दुई हजारदेखि पाँच हजार रुपैयाँ समेत जरिवाना गरिएको छ ।
सो क्षेत्रका पसलहरुबाट जरिवाना स्वरुप २५ हजार ५०० रुपैयाँ राजस्व संकलन गरेको थापाले बताइन् । यहाँका विभिन्न पसलहरु नियमविपरित भेटिएको र आगामी दिनमा समेत यस्तो अवस्था फेला परेमा थप कडा कारबाही गरिने सहायक प्रमुख जिल्ला अधिकारी सुयलले बताए । यथाशिघ्र कानूनभित्र रहेर पसल सञ्चालन गर्न उनले व्यवसायीहरुलाई निर्देशन दिए ।
पर्यटन तथा पर्यटन तथा उद्योग कार्यालय लमजुङका प्रमुख थापाका अनुसार चाडपर्व लक्षित हालसम्म एक दर्जन पटक अनुगमन भइसकेको छ, भने हालसम्म १८२ वटा पसलको अनुगमन गरिसकेको छ । हालसम्म जरिवाना स्वरुप १ लाख ४१ हजार ९०० रुपैयाँ राजस्व संकलन भएको उनको भनाई छ ।