काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी लमजुङ–काठमाडौं सम्पर्क समितिले विजयादशमी, शुभदिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
स्काइ पार्टी प्यालेस, सामाखुसी काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा लमजुङ घर भइ हाल काठमाडौंमा बस्दै आएका लमजुङ्गेहरुको उल्लेख्य सहभागीता रहेको थियो ।
कार्यक्रममा रास्वपाका उपसभापति सांसद डोल प्रसाद अर्यालले राष्ट्रिय स्वतन्त्र पार्टीले सदनमा गरेका छलफल, प्रस्तुतीहरुले यस वर्षको दशैंमा केहि न केहि बहसको विषय बन्ने विश्वास व्यक्त गरे । लमजुङमा घण्टी बजिसकेको भन्दै उनले समय कुर्न मात्र बाँकी रहेको बताए । विगतमा लमजुङ्गेहरुको प्रयासले नै १० हजार मत ल्याउन सफल भएको भन्दै उनले मतदान गर्ने सबै मतदातालाई आभार व्यक्त गरे । मतदातालाई बुझाउन नसक्दा निर्वाचनामा विजयी हुन नसकेको उनले बताए ।
‘आउँदै गरेको चाडबाड, स्वदेश तथा विदेशबाट जम्मा भएका आफन्तसँग हामीले किन राजनीति पार्टी खोलेको हौं । किन युवाहरुलाई अगाडि लगाएका हौं । किन विद्धान साथीहरु खोजेका हौं । यो बहस गर्ने बेला भएको छ’ उनले भने, ‘हामीले आफ्नो विषय र प्रस्तुतले समाज परिवर्तन गर्ने हो । अरुलाई गालि गरेर हुँदैन । हामी रगत र आँसु नझारी यो देश परिवर्तन गर्ने अभियानमा छौं । त्यो प्रयास सफल पार्नका लागि सबैको साथ र सहयोग आवश्यक छ ।’ उनले आगामी निर्वाचनमा जनताले संघीय, स्थानीय र प्रदेशको नेतृत्व गर्ने मौका दिने विश्वास व्यक्त गरे ।
कार्यक्रममा सांसद शिशिर खनालले लमजुङ अघिल्लो चुनावमा नै १० हजार मत पाएको जिल्ला भएको भन्दै आगामी निर्वाचनामा भारी मतले जनताले जिताउने बताए । उपनिर्वाचनमा तनहुँको क्षेत्र नंं १ को चुनावमा रास्वपालाई जिताउन लमजुङेहरु पनि लागेको उनले बताए ।
उनले भने,‘भारी मतान्तरसहित उपनिर्वाचनमा तनहुँले जित्यो । लमजुङमा पनि अब पालो हाम्रो नै हो । लमजुङ अब घण्टिको बाहेक कसैको हुन सक्दैन ।’ अब नजितिएला होइन कि जितेपछि लमजुङ कस्तो बनाउने भन्नेतर्फ लाग्नुपर्ने उनले बताए ।
सांसद गोविता गौतमले लमजुङमा निर्विकल्प रुपमा रास्वपा विजयी हुने विश्वास व्यक्त गरिन् । नेपालमा रास्वपाले आशाको फुल रोपेको भन्दै उनले आफुहरुले प्रयास गरिरहेको बताइन् । उनले आफुहरु संसदीय भूमिकामा, कानून निर्माण गर्ने भूमिकामा रहेको भन्दै जनताहरुलाई आवश्यक गर्ने भूमिकामा त्यति नपाएको बताइन् । सांसद गौतमले आफ्नो ठाउँ बनाउन आफैं लाग्नुपर्ने समेत बताइन् ।
लमजुङ संयोजक धर्म केसीले राजनीति अभियानका क्रममा पार्टीसँग जोडिएर अथवा शुभेच्छुक भएर परिवर्तनका लागि साथ दिने सम्पूर्णमा धन्यवाद व्यक्त गरे । उनले त्यो साथलाई अझ बढाउन आवश्यक रहेको पनि बताए । आगामी निर्वाचनमा लमजुङमा रास्वपाको मत १ को ११ बन्दै लैजानुपर्ने र त्यसका लागि साथ र सहयोगको अपेक्षा व्यक्त गरे ।
लमजुङ काठमाडौं सम्पर्क समितिका संयोजक भोला शर्माले लमजुङमा विकासका लहरहरु फैलाउन आवश्यक रहेको बताए । उनले भने, ‘लमजुङ घलेउत्तरकन्यादेखि विचौरसम्म, समिभज्याङदेखि राइनाससम्म लमजुङको विकास गर्नुपर्ने अवस्था छ । बगेका
मर्स्याङ्दी, मिदिम र दोर्दीबाट हामीले विकासका लहरहरु फैलाउनुछ ।’
डुम्रे–बेसिशहर मोटरबाटो र मनाङसम्म जोडिएको मोटरबाटो, त्यहाँ भएका प्राकृति सम्पदाहरुलाई हामीले टुरिजमसँग दाँजेर आयआर्जन गर्नुपर्ने उनले बताए ।
विगतमा लमजुङमा देखिएका राजनीतिक पुराना राजनीतिक खेलहरुलाई समाप्त गरेर नयाँ विजारोपण गर्नुपर्ने उनले बताए । उनले भने, ‘हामीले गोरखाको लिगलिकोटबाट उदाउँदै गरेको सुर्यसँगै लमजुङलाई आशाको किरणहरु फैलाउनुछ ।’
हिजोसम्म लमजुङमा पनि घण्टी छर भन्नेलाई विगतमा दश हजार मत ल्याएर जवाफ दिइ सकेको भन्दै उनले अब ८४ को चुनावमा ८ वटा पालिकामा घण्टी बज्ने बताए । उनले भने, ‘संसदमा हाम्रो नेताहरुलाई पठाउनुछ । संसदीय दलमा पनि हाम्रो लमजुङबाट प्रतिनिधत्व गर्नेछन् । अघिल्लो चुनावमा हाम्रो कमिकमजोरी भए । अब ठूलो स्वरमा घण्टी बज्ने छ ।’ पदमराज पन्थीले स्वागत राखेको कार्यक्रमको सञ्चालन निराजन चिलुवाले गरेका थिए ।