काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड बन्द हुने समय तालिका परिवर्तन गरिएको छ। नागढुंगा–मुग्लिन सडक आयोजना पश्चिमखण्ड (नारायणगढ–मुग्लिन)ले एक सूचना जारी गर्दै समय तालिका परिवर्तन भएको जनाएको हो।
तुइन खोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएपछि शनिबारदेखि दैनिक चार घन्टा सवारीसाधन रोकिएको छ। बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारीसाधन रोक्ने भनिए पनि सो समय तालिका परिवर्तन गरिएको हो।
परिवर्तित समयअनुसार दिउँसो १२ बजेदेखि ४ बजेसम्म सडकखण्ड बन्द गरिने भएको छ। भिर भएको ठाउँमा पुल बनाउनुपर्ने र डाइभर्सन बनाउन सम्भव नभएपछि सवारीसाधन नै रोकेर काम गर्न लागिएको आयोजनाका सूचना अधिकारी ई. कृष्ण आचार्यले जानकारी दिए। उनका अनुसार चितवन र तनहुँतर्फका विभिन्न ६ स्थानमा सवारीसाधन रोकिनेछ।
नारायणगढबाट मुग्लिनतर्फ जाने सवारीसाधनमध्ये यात्रुवाहक सवारीसाधन पन्ध्रकिलो बजारदेखि जुगेडीसम्म रोकिनेछन् भने मालवाहक सवारीसाधन भतेरी जंगलदेखि रामनगरसम्म रोकिनेछन्। काठमाडौंबाट आउने यात्रुवाहक सवारीसाधन मुग्लिन बजारदेखि मनकामना केबलकारसम्म र मालवाहक सवारीसधान लेवाटारमा रोकिने उनले जानकारी दिए।