काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न आग्रह गरेको छ । आयोजले सूचना जारी गर्दै प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त रहेका २३ पदमा हुने उप निर्वाचनका लागि घोषणापूर्व नै मतदाता नामावली दर्ता गर्न आग्रह गरेको हो ।
बाह्य जिल्लाबाट समेत मतदाता नामावलीमा नाम दर्ता गराउन सकिने आयोगले जनाएको छ । ‘निर्वाचन प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य स्थगित गर्नुपर्ने कानूनी व्यवस्था रहेको छ। आयोगले नियमितरूपमा प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयहरूमार्फत् मतदाता नामावली दर्ता गर्ने कार्य गर्दै आएको छ ।
साथै नागरिकको सहजताको लागि बाह्य जिल्लाबाट मतदाता नामावली दर्ता गर्न सकिने सुविधा समेत उपलब्ध गराएको छ,’ आयोगले भनेको छ, ‘मतदाता दर्तासम्बन्धी विद्यमान व्यवस्था बमोजिम देशभरका योग्यता पुगेका सबै नेपाली नागरिकहरूको मतदाता नामावलीमा नाम दर्ता भएकै छ भन्नेमा आयोग विश्वस्त छ।
तथापि, विभिन्न कारणले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका देशभरका र विशेषतः पद रिक्त भएका देहायका स्थानीय तह, प्रदेश सभा निर्वाचन क्षेत्र र प्रतिनिधि सभा निर्वाचन क्षेत्रभित्रका योग्यता पुगेका नेपाली नागरिकलाई उपनिर्वाचनको मिति घोषणा हुनुपूर्व नै मतदाता नामावलीमा नाम दर्ता गर्न आयोग आह्वान गर्दछ।’
२३ वटै पदको लाग पदमा उपनिर्वाचनद्वारा पदपूर्ति गर्न आयोगले नेपाल सरकारसँग परामर्श गरिरहेको आयोगले जनाएको छ । कानून बमोजिम उपनिर्वाचनको मिति तोक्ने गरी आन्तरिक तयारी प्रारम्भ भएको भन्दै निर्वाचन घोषणा अघि नै नाम दर्ता गराउन आयोगले आह्वान गरेको हो । सुवास नेम्वाङको निधनपछि इलाम २ मा प्रतिनिधिसभाको निर्वाचन गर्नुपर्नेछ ।
त्यस्तै, बझाङ १(१)को प्रदेशसभा सदस्य, दैलेखको महाबु गाउँपालिका अध्यक्ष, दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्ष, जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख र बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षसहित अन्य विभिन्न स्थानीय तहका वडाध्यक्षको लागि उपनिर्वाचन हुँदैछ ।