काठमाडौं, २२ माघ । जिल्ला अदालत काठमाडौंले व्यवसायी अरुण चौधरीसहित तीन जनालाई अनुसन्धान नसकिए पनि बुधबार रिहा गर्न आदेश दिएको छ । सोमबार जिल्ला अदालत काठमाडौंले बाँसवारी छाला तथा जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको आरोपमा पक्राउ परेका व्यवसायी अरुण चौधरीसहित तीन जनालाई अब दुई दिन भन्दा बढी हिरासतमा नराख्न आदेश दिएको हो।
दोस्रो पटक म्याद थपका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सोमबार अदालतमा उपस्थित गराएको थियो। अदालतले दुई दिन म्याद दिँदै यो अवधिमा पनि अनुसन्धान नसकिए उनीहरुलाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको हो।
जिल्ला सरकारी वकिल कार्यालयमा आइतबार नै उनीहरुको बयान सकिएको थियो। तर प्रहरीले थप अनुसन्धान बाँकी नै रहेको भन्दै हिरासतमा राखेर अनुसन्धानन गर्न माग गरेको थियो।
गत बिहीबार च्याम्पियन फुटवेयर लिमिटेडका सञ्चालकसमेत रहेका व्यवसायी अरुण चौधरी, च्याम्पियन फुटवेयर लिमिटेडका सञ्चालक सञ्जय ठाकुर र बाँसवारी छाला तथा जुत्ता कारखानाका पूर्वअध्यक्ष अजितनारायण थापा पक्राउ परेका थिए ।
बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा निजी बनाएको आरोप लागेका अरुण चौधरीविरुद्ध ४३ जना स्थानीयले ठगीको जाहेरी दिएका छन् । सार्वजनिक जग्गा हड्पिएको भन्दै ४३ जना स्थानीय बासिन्दाले बाँसबारीस्थित काठमाण्डु महानगरपालिका ३ कार्यालयमा निवेदन दिएका थिए ।
सोही निवेदन वडा कार्यालयले सीआईबीमा पठाएपछि ठगी र किर्तेमा अनुसन्धान अघि बढेको हो । तर चौधरीले हड्पेको भनिएको जग्गा फिर्ता गराएर मुद्दा नचलाउने गरी राजनीतिक दबाब परेको छ ।
जग्गा फिर्ता गराए पनि मुद्दामा जाने प्रहरीको तयारी छ । ठगीमा स्थानीय बासिन्दाले जाहेरी दिएको र सरकारी जग्गा हडप्न किर्ते गरेको देखिएकाले त्यसमा अनुसन्धानपछि कानुनी प्रक्रियामा जानै पर्ने सीआईबीको अडान छ ।