काठमाडौं । रातो पासपोर्ट बिक्री काण्डमा सर्वोच्चमा मुद्दा खेपिरहेका नारदमुनि रानाको मुद्दाको पेशी आजका लागि तोकिएको छ । रानाको पासपोर्टमा अस्ट्रेलिया गएका व्यक्ति १३ वर्षदेखि उतै बसिरहेका छन् ।
नेकपा एमाले पोलिटब्यूरो सदस्य राना यतिबेला कन्चनपुरका इन्चार्ज हुन् । यसपूर्व कैलाली इन्चार्ज रहँदा सर्वमान्य नेता हुन नसकेका राना कन्चनपुर इन्चार्ज भएर गएपछि झनै विवादित हुँदै आएका छन् । उनलाई राना थारुको नामना मात्रै राजनीति गरेको, चौधरी थारु लगायत अन्य जाति र समुदायलाई लडाएर विवाद माथि विवाद बढाएको, पार्टीको आन्तरिक बैठकमा आफ्नो निर्देशन विपरित कोही गए हातखुट्टा भाँचिदिने, केटाहरु प्रयोग गरेर सिद्द्याइदिने भन्दै धम्की दिएको आरोप पार्टीभित्र चुलिँदै गएको छ ।
आज सर्वोच्चमा पेशी भएकै कारण रानाले कन्चनपुरको फागुन १० र ११ गते तोकिएको निर्वाचन चैत्र १ र २ गतेका लागि सारेको भनाई समाचार स्रोतको छ ।
पहिलो संविधानसभामा निर्वाचित भएर सभासद् भएपछि पाएको रातो पासपोर्ट बिक्री गरेको अभियोगमा रानाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले जिल्ला अदालत काठमाडौंमा छुट्टाछुट्टै मुद्दा दायर गरेका थिए । सिआइबीले ०६८ सालमा रानालाई पक्राउ गरी केही दिन हिरासतमा राखेर मुद्दा दायर गरेको थियो । जिल्ला अदालतले उनलाई सफाइ दिएपछि मुद्दा सर्वोच्चमा पुगेको थियो ।
अख्तियारको अनुसन्धानअनुसार रानाको पासपोर्टमा म्याग्दीका निर्मल बानियाँ नक्कली सभासद् बनेर अस्ट्रेलिया उडेका थिए । उनी अहिले पनि उतै छन् ।
बानियाँ ११ डिसेम्बर २०१० मा अस्ट्रेलिया उडेका थिए । सिआइबीले अस्ट्रेलियन प्रहरीसँग सहकार्य गरे पनि उनी पक्राउ परेका छैनन् ।
विगतमा संविधानसभा सदस्य, त्यसपछि २०७४ मा संघीय सांसद, वनमन्त्री बनेका हालका नेकपा एमालेका पोलिट ब्यूरो सदस्य राना आफ्नो राजनीतिक शक्तिको आडमा प्रहरीसङ्गको साठगाँठमा बानिया पक्राउ नपरेको हुनसक्ने बताइएको छ ।
अनुसन्धान सुरु भएलगत्तै सांसद रानालाई २१ असोज ०६८ मा मात्रै अनामनगरस्थित डेराबाट पक्राउ गरेको थियो । रानाविरुद्ध प्रहरीले किर्ते र राहदानी दुरुपयोग तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
दुई श्रीमती राखेका कारण पार्टी र समाजमा बद्नाम व्यक्तिको रुपमा परिचित रानाले रातो पासपोर्ट बिक्रि आरोप पछि झनै खराब नेताको छवी बनाउदै आएका छन् ।
रानाले २०७९ को प्रदेश निर्वाचनमा महिला समानुपातिक तर्फ पहिलो चरणमा कान्छी श्रीमती प्रेमवती रानाको नाम सिफारिस गर्न पार्टीका जिल्ला नेतालाई दबाब दिएका थिए । तर जिल्लाका नेताले उनको सिफारिस नमानेपछि कान्छी श्रीमतीको नाम काटेर जेठी श्रीमती निरासु देवी रानाको नाम सिफारिस गर्न धम्काए । तर पनि उनकी दुबै श्रीमती समानुपातिकमा परेनन् । यही तनाबमा परेकी कान्छी प्रेमवती राना त्यही बेलादेखि डिप्रेसनको औषधी सेवन गरिरहेको समाचार स्रोतको दाबी छ ।
अहिले एमाले कैलाली जिल्लाको निर्वाचनमा पनि राना जेठी श्रीमती निरासु देवी राना र छोरी मिना रानालाई जिल्ला कमिटी सदस्य बनाउन मरिहत्ते गरेर लागेका छन् । निरासुको उम्मेदवारी खुल्ला महिला सदस्य र मिनाको उम्मेदवारी खुल्ला भुगोलमा रहेको छ ।
उनका यस्तै यस्तै हर्कतले आजिद एमाले कैलाली वृत नारदको मनोपरी नरोकिए मिसन ०८४ एमाले कैलालीका लागि अभिसाप बनेर आउने चिन्ता ब्यक्त गरिरहेका छन् ।