काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कतारी राजासँग इजरायलमा हमासको आक्रमणपछि बेपत्ता विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका छन्।
दुई दिने राजकीय भ्रमणका क्रममा नेपाल आइपुगेका कतारी शेख तमिम बिन हमाद अल थानीसँग शीतलनिवासमा भएको औपचारिक भेटवार्ताका क्रममा राष्ट्रपति पौडेलले उनलाई विपिन जोशीबारे कुरा उठाएका थिए।
सो क्रममा कतारी शेखले कतारले जोशीको खोजी तथा रिहाइको लागि पहल गरिरहेको बताएको राष्ट्रपति पौडेलका राजनीतिक सल्लाहकार सुनिलबहादुर थापाले जानकारी दिए ।
गत वर्ष असोज २० गते इजरायलमा प्यालेस्टाइनको हमास समूहले गरेको आक्रमणमा परी १० नेपालीको मृत्यु भएको थियो भने जोशी सम्पर्कविहीन भएका थिए ।
हराएका विपिन कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाँसीका हुन्। हमासको आक्रमणपछि इजरायली डिफेन्स फोर्स आईडीएफले भिडिओ सार्वजनिक गर्दै विपिनलाई प्यालिस्टिनी विद्रोही समूह हमासले नियन्त्रणमा लिएर गाजातर्फ लगेको बताएको थियो।