काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको जलेश्वर नगरपालिका प्रमुख सुरेश साह सोनार र उपप्रमुख रौशन खातुनसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
प्रमुख र उपप्रमुखसहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकालसमेत १२ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको आरोपमा बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
उनका अनुसार नगरपालिकाको वडा नं. १ स्थित हाटबजार क्षेत्रमा भइरहेको ढलानमा गुणस्तरहीन कार्य गरी भ्रष्टाचार गरेको अख्तियारको ठहर छ ।
आ.व. २०७९/०८० मा सञ्चालित बजार क्षेत्रभित्र पीपीसी. ढलान कार्यमा नगर प्रमुख, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र अधिकृत छैठौं धिरेन्द्र झाले योजनाको वास्तविक भए गरेको कार्यभन्दा बढी कार्य गरेको भनी झुट्टा विवरण पेश गरेको अख्तियारले जनाएको छ ।
उनीहरूविरुद्ध ५ लाख ८४ हजार ६३७ बिगो कायम गरी बिगोबमोजिम जरिवाना गरी बिगोसमेत असुल उपर हुन मागदाबी लिइएको उनले बताए ।
अख्तियारले नगरपालिकाका वरिष्ठ इन्जिनियर पवन कुमार झा, इन्जिनियर राकेश कुमार चौधरी र सव-इन्जिनियर दिपेशकुमार साहविरुद्ध पनि मुद्दा दायर गरेको छ ।
यस्तै, कार्यपालिका सदस्य सोगरा खातुन र जलेश्वर नगरपालिकाका वडा नं. १ का वडाध्यक्ष अनिल कुमार झालेसमेत उपभोक्ता समितिका अध्यक्ष राकेशकुमार साह, सचिव सिकेन्द्र चौधरी र कोषाध्यक्ष संतोषी देवीविरुद्ध पनि भ्रष्ट्राचार मुद्दा दायर गरिएको प्रवक्ता घिमिरेले बताए । उनीहरू सबैविरुद्ध समान बिगो कायम गरिएको अख्तियारले जनाएको छ ।