काठमाडौं । बाढीले मनाङमा क्षति पु-याएको छ । नासों गाउँपालिका–१ तालगाउँलाई जोगाउन लगाइएको मेसिनरी पर्खाल आज बिहान भत्किएको छ ।
विसं २०७८ जेठ १४, २९ र असार १ मा मस्र्याङ्दी नदीमा आएको बाढीले तालगाउँ डुबानमा परेपछि बस्तीको सुरक्षाका लागि मेसिनरी पर्खाल लगाइएको थियो । पर्खाल लगाएको तीन वर्षपछि आज भत्किएको हो । उक्त क्षेत्रमा मस्र्याङ्दी नदीको बाढीको वेग सिधा पर्ने र प्रत्यक्ष प्रभाव पार्ने गर्दछ ।
मनाङका प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले गाउँको माथिल्लो क्षेत्र तथा गाउँमा बाढी पस्ने ठाउँमा लगाइएको पर्खाल भत्किएको जानकारी दिए । उनका अनुसार नदीको बहाव बढेमा पर्खालमा अझ बढी क्षति पुग्नसक्ने अवस्था रहेको छ ।
अहिलेको जोखिमलाई रोक्ने र बस्तीलाई सुरक्षित बनाउन स्थानीय तथा प्रहरीको सहयोगमा पर्खाल मर्मतको काम भइरहेको प्रजिअ लामिछानेले बताए । मनसुनको सुरुआतमा नै क्षति व्यहोरेको मनाङमा वर्षा बढी भएमा अझै उक्त क्षेत्र अझै जोखिम बढ्नसक्ने उनको भनाइ छ ।
