काठमाडौं । लमजुङको सुन्दरबजार नगरपालिका–७ पाउँदीमा १०८ फिट उचाइको शिद्धेश्वर महादेवको मूर्ति निर्माण गरिएको छ । कर्मदा नदीका शिवजी महादेव मन्दिर संरक्षण समितिले मर्स्याङ्दी नदी नजिकै महोदेवको मूर्ति निर्माण गरेको हो।
समितिका उपाध्यक्ष चन्द्रप्रसाद पोखरेलले महादेव मूर्तिसहित सो परिसरमा भगवान् गणेश, विष्णु, शिवको वाहन साँडे (बसाह) को मूर्तिसमेत निर्माण गरिएको जानकारी दिए।
काठमाडौं र पोखराबाट कालीगढ ल्याएर मूर्ति निर्माण गरिएको उनले बताए । त्यसका लागि दुई करोड ५० लाख खर्च भएको उनले जानकारी दिए। मूर्तिमा रङरोगन सम्पन्न भएको छ। सोही परिसरमा १०८ शिवलिङ्ग र १०८ धारा निर्माण गर्न लागिएको छ।
समितिको नाममा रहेको एघार रोपनी जग्गामा उक्त पूर्वाधार निर्माण भइरहेको हो। धारा तथा शिवलिङ्ग व्यक्तिको नाम र पितृहरुको नाम राखिने र यसका लागि न्यूनतम ११ हजार एक सय ११ तिर्नुपर्ने समितिले जनाएको छ। बाँकी काम असोज महिनाभित्र सकिने र आगामी ठूलो एकादशीका दिन उद्घाटन गर्ने तयारी भइरहेको छ।
त्यस्तै, महादेव मूर्ति स्थापनका लागि हालसम्म १४ लाख बढी चन्दा सङ्कलन भएको छ। यहाँ मर्स्याङ्दी नदीमा स्नायु गर्न, सतबीज छर्न, ठूलो एकादशी पर्वमा लाखौँ भक्तजन विभिन्न स्थानबाट यस क्षेत्रमा आउने गरेका छन्।