काठमाडौं । सौर्य एयरलाइन्स जहाज दुर्घटनामा घाइते भई उपचार भइरहेको क्याप्टेन मनिष शाक्यलाई न्यूरो सघन उपचार कक्ष (आईसीयू) बाट वार्डमा सारिएको छ ।
काठमाडौं मेडिकल कलेज तथा शिक्षण अस्पतालका निर्देशक प्रा. डा. मीना थापाका अनुसार उनलाई शुक्रबार बिहान आईसीयूबाट नर्मल वार्डमा सारिएको हो ।
दुर्घटनालगत्तै सुरुमा शाक्यलाई आकस्मिक कक्ष (ईमर्जेन्सी)मा पुर्याइएको थियो । जतिबेला उनको आँखामा चोट लागेको थियो भने शरिरका अन्य भागबाट रगत आएको थियो । केहीबेर आकस्मिक कक्षमा उपचार गरेपछि शाक्यलाई सोही दिन आईसीयूमा लगेर उपचार थालिएको थियो ।
चिकित्सकहरूले उनको मेरुदण्डमा समस्या रहेको भन्दै अपरेसन गर्नुपर्ने बताएका थिए । यद्यपि, अहिलेसम्म उनको मेरुदण्डको अपरेसन भएको छैन । ‘अपरेसन गर्ने कि नगर्ने भन्नेबारे हड्डीको विशेषज्ञसँग कुरा हुँदैछ,’ डा. थापाले भनिन् ।
त्यस्तै, उनले आईसीयू कक्षबाटै बिहीबार घटनाबारे सामान्य जानकारी दिएका थिए । उनका अनुसार, त्यतिबेला उनले आफूले टेकअफ गरेर १ सय मिटर माथि पुग्नेबित्तिकै जहाज आफ्नो कन्ट्रोलमा नआएको चिकित्सकहरूसँग सुनाएका थिए ।
विमानस्थलको कोटेश्वरतर्फ रनवे ०२ बाट उडेको सौर्यको विमान बिहान ११ बजेर ११ मिनेटमा दुर्घटनामा परेको थियो। विमान दुर्घटनामा १८ जनाको ज्यान गएको थियो ।