काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी सबै मन्त्रालयहरूले ब्लुप्रिन्ट तयार गरी कार्यान्वयन गर्न निर्देशन दिएकी छन् ।
सोमबार दिउँसो सिंहदरबारमा अन्तरिम सरकार गठन भएपछि सम्पन्न भएका कार्य प्रगतिको विवरण लिँदै यस्तो निर्देशन दिएकी हुन् । गत भाद्र २३ र २४ गतेको आन्दोलनको मर्म र भावना बमोजिम भ्रष्टाचार नियन्त्रण सुशासन र प्रभावकारी सेवा प्रवाह आजको आवश्यकता रहेको बताइन् ।
सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्न र सार्वजनिक कोषको प्रभावकारी एवं नतिजामूलक उपयोग गर्न पनि निर्देशन दिइन् । निजी क्षेत्रको मनोबल वृद्धि गरी औद्योगिक वातावरणमा सुधार गर्न आवश्यक संवाद, सहजीकरण र सहकार्य गर्न निर्देशन दिइन् ।
प्रधानमन्त्री कार्कीले आम नागरिकमा सरकारप्रतिको भरोसा वृद्धि गर्ने एवं निजामती कर्मचारी र सुरक्षाकर्मीहरूमा मनोबल वृद्धि गर्ने उपायहरू अवलम्बन गर्न निर्देशन दिइन् । कर्मचारीहरूको सरुवा बढुवा प्रणालीलाई व्यवस्थित गरी अनुमानयोग्य, पारदर्शी र न्यायोचित बनाउन आवश्यक कामहरु गर्न पनि उनको निर्देशन छ ।
प्रधानमन्त्री कार्कीले तीनै तहका सरकारबिचको समन्वयलाई थप प्रभावकारी बनाउन आवश्यक कामहरु गर्दै कानुनकोे शासन प्रत्याभूत गर्न सबै खाले आपराधिक क्रियाकलापहरू नियन्त्रण गर्नुपर्ने जरुरी रहेको बताइन् ।

