काठमाडौं । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित विभिन्न ८ दलहरु एकीकरणमा जाने सहमति जुटेको छ । विभिन्न ८ दलबिच हुन लागेको एकताका विषयमा साझा धारणा बनाउँदै सहमतिपत्र समेत सार्वजनिक भएको छ । आइतबार भएको सहमतिपत्र अनुसार पार्टीको मार्गनिर्देशक सिद्धान्तमा मास्र्कवाद–लेनिनवाद हुने बताइएको छ ।
आज माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले सहमति तयार गरी सार्वजनिक गरेको हो ।
त्यस्तै पार्टीको तत्कालीन कार्यनीतिमा ‘पुँजीवादी–जनवादी क्रान्तिका उपलब्धीहरुको रक्षा, राष्ट्रिय हित, स्वाधिनताको संरक्षण, सुशासन, सामाजिक न्याय, सामाजिक आर्थिक समृद्धि र रुपान्तरण गर्दैै समाजवादको आधार तयार गरिनेछ,’ भनिएको छ ।
यसैगरी पार्टीका एकता राष्ट्रिय सम्मेलन एकता प्रक्रियामा सहभागि सबै घटकहरुका केन्द्रीय समितिहरुको संयुक्त भेलाको रुपमा एकता राष्ट्रिय सम्मेलनको आयोजना २०८२ साल कार्तिक १९ गते गरिने बताइएको छ । त्यस्तै राष्ट्रिय सम्मेलनबाट पार्टी एकताको घोषणा, घोषणापत्र र अन्तरिम विधान पारित र केन्द्रीय समितिको गठन लगायतका कार्यहरु गरिने सहमतिपत्रमा उल्लेख गरिएको छ ।
सहमतिपत्रमा उल्लेख भएअनुसार आगामी ६ महिनाभित्र राष्ट्रिय महाधिवेशनको आयोजना गरिनेछ ।
हाल तत्कालका लागि केन्द्रीय समितिमा संयोजक र सहसंयोजक पद रहनेछ । प्रदेश, जिल्ला, पालिका र वडा तहका सबै समितिहरुमा पनि संयोजक र सहसंयोजकको व्यवस्था हुने बताइएको छ । साथै पार्टी एकता घोषणापश्चात राजनीतिक प्रतिवेदन, कार्यक्रम लगायतका दस्तावेजहरु निर्माण गर्न कार्यदल गठन गरिने बताइएको छ ।
पार्टीको नाम उल्लेख नगरिए पनि चुनाव चिह्न भने पाँचकुने तारा रहने बताइएको छ । एकीकृत पार्टीमा पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेको नेकपा माओवादी केन्द्र, माधवकुमार नेपालले नेतृत्व गरेको एकीकृत समाजवादी, महिन्द्र राय यादवले नेतृत्व गरेको नेसपा, चिरन पुनले नेतृत्व गरेको नेकपा, राजु कार्कीले नेतृत्व गरेको नेकपा (समाजवादी), सुवासराज काफ्लेले नेतृत्व गरेको जनसमाजवादी पार्टी नेपाल, कर्णजीत बुढाथोकीले नेतृत्व गरेको नेकपा (माओवादी) र प्रेमबहादुर सिंहले नेतृत्व गरेको नेकपा साम्यवादी रहेका छन् ।
मुख्यगरी नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले पार्टी एकीकरण गर्ने भएसँगै दुवै दलमा असन्तुष्टिहरु बढिरहेका छन् ।


