काठमाडौं । गत असारमा आएको बाढी र पहिरोका कारण भत्किएको लमजुङ बेसिशहर ११ चिति रिठ्ठे बगर–बुढीकुवा सडक मर्मत शुरु भएको छ ।
सडक भत्किएका आवात जावतमा समस्या भएको थियो । बेसिशहर ११ का वडाअध्यक्ष शिव प्रसाद जोशीले आगामी वर्षमा फेरि समस्या नआउने गरी काम गरिने बताए ।
उनले भने, ‘आशा छ अर्को वर्ष हामीले अहिलेको जस्तो समस्या भोग्नु पर्दैन, पहिरो समेत रोकथाम गर्ने गरी काम अघि बढाउँदै छौं । मध्य मस्र्याङ्दीको बहाबलाई कसरी नियन्त्रण गर्ने भन्ने विषयमा पनि रोकथाम गर्दै छौं । हामी त्यहि तयारीमा जुटेको छौं ।’
यस्तै गत सोमबार बाटो स्तरोन्नत्तीका लागि वडामा छलफल समेत भएको थियो । रिट्ठेबगर, रुम्टाबेसी, बुढीकुवाको अवरुद्ध बाटो खुलाउन मध्यमस्र्याङ्दी जलविद्युत आयोजना र बेसिशहर ११ वडा कार्यालयबीच सहमति भएको थियो ।
सडकको समस्या भएको ठाउँमा २,३ दिनभित्र इस्टिमेट गरी यहि हप्ता टेन्डर निकाल्ने,मस्र्याङ्दीमा जमेको रिट्ठे बगर माथीको भाग वडा हुँदै नगरपालिकाको निर्णयसँगै जिल्ला प्रशासनबाट प्रक्रियागत रुपमा आएपछि नगरपालिकामार्फत बालुवा निकाल्न सहमति दिने निर्णय भएको थियो ।
यस्तै पहिरोबाट समस्या भएको घरहरुलाई ६ महिनाको लागि भाडामा स्थानान्तरण गर्ने र मध्य मस्र्याङ्दीको ड्यामबाट हिँड्ने बाटोको लागि नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयमा लेखी पठाउने निर्णय भएको थियो ।
यसअघि वडा अध्यक्ष जोशीसहित जनप्रतिनिधिहरुले बेसिशहर नगरपालिका प्रमुख गुमानसिंह अर्याल, प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङलाई समेत ध्यानकर्षणपत्र बुझाएको थियो ।
सम्बन्धित समाचार