काठमाडौं । हरितालिका तीज पर्वको तयारी पशुपति क्षेत्रमा अन्तिम चरणमा पुगेको पशुपति क्षेत्र विकास कोषले जानकारी दिएको छ। शुक्रबार नेपाली महिलाहरूले उल्लासमय रूपमा मनाउने तीज पर्वका लागि मन्दिर क्षेत्रमा सुरक्षा, स्वयंसेवा, दर्शन व्यवस्थापनलगायत सबै तयारीहरू सम्पन्न हुने क्रममा रहेको छ।
पशुपति क्षेत्र विकास कोषका सदस्य–सचिव डा. मिलनकुमार थापाले बिहीबार आयोजित पत्रकार सम्मेलनमा तीज पर्वका लागि सुरक्षा र दर्शन व्यवस्थापनका तयारीहरू अन्तिम चरणमा पुगेको जानकारी गराएका हुन्। उनले पशुपतिनाथ मन्दिरमा दर्शनार्थीहरूको सुविधाका लागि विशेष मार्गहरू निर्माण गरिएको बताए। दर्शनार्थीहरूलाई गौरीघाट, उमाकुण्ड, दक्षिणामूर्ति, रुद्रगाडेश्वर हुँदै उत्तर ढोकाबाट प्रवेश गरी पश्चिम मूल ढोकाबाट बाहिरिने व्यवस्था गरिएको छ।
त्यस्तै मित्रपार्क, जयवागेश्वरी, गौशाला, भुवनेश्वरी, शंकराचार्य मठ हुँदै पशुपतिनाथ प्रवेश र बाहिरिन सहज मार्गहरूको व्यवस्था गरिएको छ।
पिङ्गलास्थान हुँदै बनकाली, चारशिवालय, पञ्चदेवीतर्फका दर्शनार्थीहरूका लागि पनि पृथक् मार्ग तयार गरिएको छ। त्यस्तै, तिलगंगा, राममन्दिर हुँदै आर्यघाट नजिकको पुलबाट पशुपतिनाथ मन्दिर प्रवेश गरी दर्शन गर्ने व्यवस्था मिलाइएको छ।
बिहान ३ बजेदेखि नै मन्दिरका चारै ढोका खुला गरिने र भक्तजनहरूले छिटोभन्दा छिटो दर्शन गरी फर्कन सक्ने व्यवस्था गरिएको छ। श्रीयन्त्र पूजा र महाभोग गोप्य पूजाको समयमा पनि दर्शनार्थीहरूले बाहिरबाट दर्शन गर्न सक्ने गरी व्यवस्थापन गरिने जानकारी दिइएको छ।
भक्तजनहरूका लागि चन्दन वितरणको व्यवस्था मन्दिर परिसरमा मात्र नभई विभिन्न स्थानहरू जस्तै उमाकुण्ड, तिलगंगा, गौशाला, र जयबागेश्वरीमा समेत गरिने भएको छ।
मेला अवधिमा तेस्रो मुलुकका पर्यटकहरूलाई टिकटमार्फत मन्दिर प्राङ्गणबाहेक अन्य क्षेत्रमा प्रवेश गर्न दिइने व्यवस्था गरिएको छ।
		
					
					
					
					
					
					
					
					
					
					
					
					
					
					
					
					
					
					
					
					
