काठमाडौं । चितवन नारायणगढ-मुग्लिङ सडकमा सडक माथिबाट ढुंगा खस्दा २ वटा बसका ५ जना घाइते भएका छन् । इच्छाकामना गाउँपालिका-६ टोपेखोलामा शनिबार राति ढुंगा खसेर लाग्दा ५ जना यात्रु घाइते भएका हुन् ।
घाइतेमध्ये तीनजनाको अवस्था मध्यम र दुईजनाको अवस्था सामान्य रहेको चितवन जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । घाइतेहरुको चितवन मेडिकल कलेजमा उपचार भैरहेको छ ।
घाइतेहरूमा बर्दिया गेरूवाका प्रेमकला थापा, विकास शर्मा र गीता पाण्डे तथा मुगुका हिरामणि सञ्जेल र मोहन सञ्जेल रहेका छन् ।
काठमाडौंबाट बर्दिया जान लागेको ना७ख २७४५ नम्बरको बस र काठमाडौंबाट नारायणगढ जाँदै गरेको बाप्र०६-००१ज ०२३६ नम्बरको माइक्रोबसमाथि ढुंगा लागेको हो । घाइते यात्रु बसका हुन् ।