काठमाडौं । सरकारी कागजात किर्ते गरेको आराेपमा धुनीबेशी नगरपालिका–४ का वडाध्यक्ष र सचिवसहित ७ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । प्रहरीले मुख्य आरोपी बाहेक एकजनालाई पक्राउ गरी अदालत पेश गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङको अनुरोधमा जिल्ला अदालत धादिङबाट ०८१ मंसिर १२ गते पक्राउ पुर्जी जारी भएको हो । पक्राउ पुर्जी जारी हुनेहरूमा वडाध्यक्ष हरिप्रसाद सुवेदी, तत्कालीन वडासचिव मिलन कुमार सुवेदी, उक्त वडाका अर्का कर्मचारी निर्मल गौतम, धादिङकै थाक्रे गाउँपालिका–८ का २९ वर्षीय रवीन्द्र तामाङ, धुनीवेशी–४ का ३० वर्षीय राजु तामाङ, धुनीवेशी–४ कै ५५ वर्षीय मदन दमाई र काठमाडौंको तार्केश्वर नगरपालिका–४ पुरानो गुहेश्वरी बस्ने ३६ वर्षीय जमुना परियार छिन् ।
उनीहरूविरुद्ध कीर्तेको कसुरमा अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी दीपेन्द्र शाहीले बताए । ‘कीर्ते कसुरमा पक्राउ पुर्जी जारी भएको छ । हामी अनुसन्धान गर्दैछौं,’ शाहीले भन ।
उनीहरूविरुद्ध सरकारी कागजात कीर्ते गरेको आरोप छ । प्रहरी स्रोतका अनुसार पक्राउ पुर्जी जारी भएकी जमुना परियारको छोराको उमेर बढाएर दोस्रो जन्मदर्ता बनाइएको थियो ।
जमुना र नाबालक छोराको नाममा जग्गा रहेको र उक्त जग्गा बेच्नका लागि कीर्ते जन्मदर्ता बनाएर नाबालकलाई नाबालक बनाइएको थियो । त्यसपछि नाबालक छोराको समेत अनुमति भनेर करोड भन्दा बढी मूल्यको जग्गा बेचेको खुलेको स्थानीय बासीले जनाएका छन् ।
मिलेमतोमा नाबालकलाई उमेर बढाएर जन्मदर्ता बनाइए जग्गा बेचबिखन गरेर रकम समेत बाँडफाँड गरिएको भन्ने सूचना छ । यसबारेमा प्रतिवादीहरुलाई पक्राउ गरेपछि सत्यतथ्य पत्ता लाग्ने छ ।
यता पक्राउ पुर्जी जारी भएपछि वडाध्यक्ष सुवेदी भने मोबाइल अफ गरेर सम्पर्कविहीन भएका छन् । एकजना बाहेक ६ जना फरार छन् भने कार्यालय सहयाेगिलाई प्रहरीले शुक्रवार पक्राउ गरी आईतबार अदालत पेश गरेको छ । घटनाका सम्बन्धमा धुनिबेसी नगरपालिका प्रवक्ता रमेश आचार्यले घटना बारे आफूले सुनेकाे तर आधिकारिक जानकारी नभएको बताए ।