काठमाडौं । शिक्षक महासंघले आज पनि आन्दोलनलाई निरन्तरता दिने भएको छ। महासघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आज पनि आन्दोलनका लागि बिहान ठिक ११ बजे माइतीघर मण्डलामा आउन शिक्षक, कर्मचारीहरुलाई आह्वान गरेका छन्।
बिगत २८ दिनदेखि काठमाडौँ केन्द्रीत आन्दोलनमा रहेको शिक्षक महासंघ र सरकारबीच गएराति सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा बार्ता भएको थियो। वार्ता सकारात्मक भए पनि निष्कर्षमा पुग्न बाँकी रहेको वार्तामा सहभागीहरुले बताएका छन्।
सरकारकोतर्फबाट वार्ताको नेतृत्व शिक्षामन्त्री रघुजी पन्तले गरेका थिए भने महासंघको तर्फबाट अध्यक्ष सुवेदीसहितको टोलीले गरेको थियो।
वार्तापछि शिक्षामन्त्री पन्तले वार्ता सकारात्मक दिशामा अगाडि बढेको प्रतिक्रिया दिएका छन्। ‘केही विषय टुंगो लगाउन बाँकी छ। वार्ता सकारात्मक रूपमा अगाडि बढेको छ,’ वार्तापछि उनले भनेका छन्।
शिक्षक महासंघका अध्यक्ष सुवेदीले भने केही विषयमा छलफल भए पनि धेरै विषयमा छलफल बाँकी रहेको बताएका छन्। उनले छलफलबाट निकास निस्केपछि मात्रै आन्दोलन निष्कर्षमा पुग्ने तर्क गरेका छन्।