काठमाडौं । प्रहरीले सोमबार गरेको दमनमा २० जेनजी प्रदर्शनकारीको मृत्यु र ३०० बढी घाइते भएपछि आक्रोशित सर्वसाधारणले ललितपुरको च्यासलस्थित नेपाल कम्युनिष्ट पार्टी (एमाले) को मुख्यालयमा आगो लगाएका छन्।
स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा उल्लङ्घन गर्दै ठूलो संख्यामा प्रदर्शनकारी एमाले पार्टी कार्यालय पुगेका थिए। उनीहरूले मुख्य भवनको चारैतिर आगो लगाइदिएका साथै कार्यालयभित्र प्रवेश गरी तोडफोड तथा कागजात जलाएका छन्।
आक्रोशित समूहले पार्टी कार्यालयको पर्खाल भत्काउनुका साथै परिसरभित्र पार्क गरिएको प्रहरी भ्यानमा समेत आगो लगाइदिएको छ। ठूलो संख्यामा भीड जम्मा भएपछि त्यहाँ तैनाथ सुरक्षाकर्मी पछि हट्न बाध्य भएका थिए।
प्रदर्शनकारीहरूले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत शीर्ष नेताहरूको बैठक कक्षमा समेत आगजनी गरेका छन्।