काठमाडौं । गृहमन्त्री रमेश लेखकले सीमा क्षेत्रमा बढ्दै गएको अपराध नियन्त्रणमा खरो भएर लाग्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।
शुक्रबार जनकपुरमा आयोजित मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले खुला सिमानाका कारण प्रदेशमा लागु पदार्थको ठूलो चुनौती रहेकाले यसलाई रोकथाम गर्नुपर्ने बताएका हुन् ।
कार्यक्रममा मुख्यमन्त्री सतिशकुमार सिंहले सीमानाकाबाट भारतीय माछा नेपाली बजारमा तस्करी भइरहेको बताए । खुला सिमानाका कारण युवाहरू लागु पदार्थ औषधको कुलतमा लागेकाले प्रहरी समायोजन तत्काल गर्न माग गर्दै मुख्यमन्त्री सिंहले प्रहरीको अभावमा सरकारलाई काम गर्न समस्या भइरहेको बताए ।
शान्ति सुरक्षा नभए विकास निर्माणसहित सबै क्षेत्र अस्तव्यस्त हुने भएकाले सरकारको पहिलो जिम्मेवारी शान्ति सुरक्षा रहेको उनले बताए । प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले प्रदेशभर प्रहरीका लागि बस्ने भौतिक संरचनाको अभाव रहेको बताए ।
सप्तरीदेखि पर्सासम्म प्रहरी बस्ने भौतिक संरचरनाको अभाव रहेकाले संघीय सरकारले सहयोग गर्नुपर्ने बताए । कार्यक्रममा प्रदेशका चारवटै सुरक्षा निकायका प्रमुखहरू तथा ८ वटै जिल्लाका सुरक्षा निकायका अधिकारीहरूको सहभागिता छ ।