काठमाडौं । नेपाली कांग्रेसका नेता अफताब आलमलाई सफाइ दिने उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जका २ जना न्यायाधीशमाथि न्याय परिषद्ले छानबिन गर्ने भएको छ । न्यायाधीश खुसीराम थारु र अर्जुन महर्जनविरुद्ध उजुरीसहित सार्वजनिक आलोचना भएपछि परिषद्ले छानबिन गर्ने निर्णय गरेको हो ।
बिहीबार बसेको परिषद्को बैठकले १ सदस्यीय छानबिन समिति बनाएर दुवै न्यायाधीशलाई कार्यक्षेत्रबाट तानेको छ । कार्यक्षेत्रमै रहँदा न्यायाधीश थारुमाथि कालोमसी फालिएको थियो ।
जिउँदै इँटाभट्टामा जलाएर मान्छे मारेको अभियोगमा आलमलाई जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरे पनि उच्च अदालतका न्यायाधीशद्वयले सफाइ हुने फैसला गरेका थिए । मृतक पिन्टु त्रिलोकका बुवाले न्यायाधीशहरूविरुद्ध न्याय परिषद्मा उजुरी दिएका थिए ।