काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसामा देखिएका सम्पूर्ण समस्याको अध्ययन, विश्लेषण र छानबिन गरेर समाधान गर्ने उद्देश्यले उच्चस्तरीय समिति गठन गरिएको बताएका छन्।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै उनले मन्त्रिपरिषद्ले शंकरदास वैरागीको संयोजकत्वमा गठन गरेको सात सदस्यीय समितिबारे जानकारी गराए।
गृहमन्त्री लेखकले समितिले संसदमा उठेका सबै सवाल र भावनाहरू समेट्ने गरी काम गर्ने उल्लेख गर्दै, समितिको प्रतिवेदनअनुसार सरकार अल्पकालीन र दीर्घकालीन योजनासहित अगाडि बढ्ने स्पष्ट पारे।
उनले भिजिट भिसा प्रकरणमा देखिएका विकृति, बेथिति र सम्भावित मानव तस्करीजस्ता गम्भीर विषयलाई प्राथमिकताका साथ समाधान गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।