काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले एमाले पार्टी फुट्छ भन्ने आशा राख्नेहरू भ्रममा नपर्न स्पष्ट सन्देश दिएका छन्।
मदन भण्डारीको ७४ औं जन्मजयन्तीको अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी फुटाउने कल्पनामा रमाउनेहरूलाई ‘नियोजित भ्रम’ फैलाएको आरोप लगाए। कार्यक्रम मदन भण्डारी फाउन्डेशनले आयोजना गरेको हो।
कार्यक्रमका क्रममा प्रधानमन्त्री ओलीले भने, “आज असार १४ गतेको दिन पारेर एमालेमा ठूलै केही हुन्छ भनेर धेरै आशा राखेर बसेको देखिन्छ। विद्या भण्डारीजीले बम पड्काउनुहुन्छ भनेर सपना देख्नेहरूको सपना पूरा हुँदैन। कुनै बम, बन्दुक, बारुद, गोला केही पड्कनेवाला छैन।”
ओलीले फाउन्डेशनको कार्यक्रम भाँड्न राष्ट्रिय वृक्षारोपण कार्यक्रमको मिति जानीजानी जुधाइएको जस्तो देखिएकोप्रति आपत्ति जनाए। “कुन अनलाइन हो कुन्नी, कार्यक्रम भाँड्न वृक्षारोपणको कार्यक्रम राखियो भनेर लेखेको छ,” उनले भने, “तर यस्तो कार्यक्रम कुनै हालतमा भाँडिँदैन।”
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पुनः पार्टी राजनीतिमा सक्रिय प्रवेशसँगै एमालेभित्र नयाँ उत्साह देखिएको छ। प्रधानमन्त्री ओलीले भने, “म र विद्या भण्डारी आउने कार्यक्रम कसरी भाँडिन्छ? एमाले जहाँ छ, त्यहाँ संगठन एकतामा जुटेको छ।”