काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीको विधानमाथि प्रश्न उठाउनु संगठनात्मक अराजकता भएको बताएका छन्। आगामी भदौमा हुने भनिएको विधान महाधिवेशनको तयारीका सन्दर्भमा ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित जनसंगठनका इञ्चार्ज र पदाधिकारीको भेलामा उनले यस्तो चेतावनी दिएका हुन्।
महासचिव पोखरेलले पार्टीको १०औं राष्ट्रिय महाधिवेशनबाट पारित भएको विधानलाई स्वयं अनुमोदन गर्ने व्यक्तिहरूले अहिले आएर त्यसैमा प्रश्न उठाउनु अनैतिक र अनुशासनहीन भएको टिप्पणी गरे। “दुवै महाधिवेशनका प्रतिनिधि भएर प्रावधान अनुमोदन गर्ने अनि अहिले प्रश्न गर्ने – त्यो अराजकता हो,” पोखरेलले भने।
उनले एमाले नेतृत्वको सरकार बनेयता पार्टीविरुद्धका आक्रमणहरू तीव्र भएको आरोप लगाए। “सरकार हामीले चलाइरहेका छौँ भन्ने कुरा धेरैलाई मन परेको छैन, त्यसैले दुई महिनामा एकपटक सरकार ढाल्ने चर्चा चलाइन्छ,” उनले स्पष्ट पारे।
विधान महाधिवेशनले नीतिगत र संरचनागत व्यवस्था गर्नेमात्र भएको उल्लेख गर्दै महासचिव पोखरेलले नेताहरूको पक्ष वा विपक्षमा अहिले कित्ताकाट आवश्यक नरहेको बताए। “नीति र नेतृत्व निर्माण फरक कुरा हो, नेताहरूले बुझ्नुपर्छ,” पोखरेलको भनाइ थियो।
भेलामा स्थायी कमिटी सदस्य तथा जनसंगठन संयन्त्र प्रमुख भानुभक्त ढकालले पार्टी निर्णयविपरीत बोलेर नेता बन्ने प्रवृत्तिको अन्त्य गर्नुपर्नेमा जोड दिए। केन्द्रीय सदस्य विष्णु रिजाल र रचना खड्काले पनि पार्टी विधानअनुसार अनुशासित ढंगले अघि बढ्न कार्यकर्तालाई आग्रह गरे।
महासचिव पोखरेलले हालै सम्पन्न जनसंगठन महाधिवेशनका दस्तावेज सात दिनभित्र केन्द्रीय कार्यालयमा पठाउन निर्देशनसमेत दिएका छन्।