काठमाडौं । जेन–जी आन्दोलनसँग सम्बन्धित अगुवाहरूले सामाजिक सञ्जालमा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गर्नुपर्ने माग गर्दै नयाँ अभियान सुरु गरेका छन्। सोमबारदेखि सामाजिक सञ्जालहरूमा ‘#ArrestKP’ (एरेस्ट केपी) नामक ट्रेन्ड तीव्र रूपमा फैलिएको छ।
अभियानको सुरुवात आफूलाई जेन–जी आन्दोलनका संस्थापकका रूपमा प्रस्तुत गर्ने हामी नेपालका संयोजक सुदन गुरुङले गरेका हुन्। उनले सोमबार बिहान फेसबुकमार्फत एउटा पोस्टर सार्वजनिक गर्दै तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई जेन–जी प्रदर्शनकारीमाथिको दमनका जिम्मेवारका रूपमा चित्रण गरेका छन्। पोस्टरमा दुबै जनाको तस्बिरसँगै “हत्यारा” भन्ने ट्याग लेखिएको छ।
गुरुङको पोस्टपछि अभियान तीव्र बनेको छ। जेन–जीकी अर्को अगुवा रक्षा बमले पनि ‘एरेस्ट केपी ओली’ लेखिएको पोस्टरसहित फेसबुक र इन्स्टाग्राममा पोस्ट गर्दै ओलीको गिरफ्तारीको माग गरेकी छन्। उनले लेखेकी छन्, “अधिकार माग्न गएका निहत्था विद्यार्थीमाथि जुन दम्भ र अहंकारले गोली दागियो, त्यो तानाशाहीपनको हिसाब हुनु जरुरी छ।”
बमले आफ्नो पोस्टमा लेखेकी छन्, “मधेस आन्दोलनमा ‘दुई चार दाना कुहिएका आँप झरेका हुन्’ भन्ने अभिव्यक्ति दिने, सेप्टेम्बर ८ को आन्दोलनमा निहत्था विद्यार्थीमाथि गोली चलाउने आदेश दिने व्यक्ति आज पनि चुट्किला सुनाएर हिँडिरहेको छ। हत्याराहरूलाई कारबाहीको दायरामा ल्याइयोस्।”
उनको पोस्ट सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिएको छ, जसमा हजारौं प्रयोगकर्ताले समर्थन जनाएका छन्। केहीले ओलीविरुद्ध प्रत्यक्ष कारबाहीको माग गर्दै टिप्पणी गरेका छन् भने अरूले निष्पक्ष छानबिनको आवश्यकता औंल्याएका छन्।
जेन–जी अभियन्ता युजन राजभण्डारी, भावना राउतलगायत अन्य युवाअगुवाहरूले पनि सो अभियानमा खुलेर समर्थन जनाएका छन्। उनीहरूले समान सन्देशका साथ ‘#ArrestKP’ ट्रेन्डमा सहभागी हुँदै सेप्टेम्बर ८ को घटनाका पीडित विद्यार्थीहरूका लागि न्यायको माग गरेका छन्।
अभियानले सामाजिक सञ्जालमा तीव्र राजनीतिक ताप ल्याएको छ। केही प्रयोगकर्ताले यसलाई जेन–जी आन्दोलनको “दोस्रो चरण” का रूपमा व्याख्या गरेका छन्, जसको उद्देश्य सत्ता र शक्तिविरुद्धको जवाफदेहिता सुनिश्चित गर्नु रहेको बताइन्छ।
यसबीच, एमालेका निकट स्रोतहरूले भने यो अभियानलाई राजनीतिक रूपमा प्रेरित कदम भन्दै विरोध गरेका छन्। पार्टीका केही नेताहरूले यो “सङ्गठित गलत प्रचार” भएको दाबी गर्दै ओलीमाथि लगाइएका आरोपहरू असत्य र भ्रम फैलाउने प्रयास भएको बताएका छन्।
तर जेन–जी पक्षका अगुवाहरूले भने यो कुनै राजनीतिक दलविरुद्धको होइन, न्याय र जवाफदेहिताको प्रश्न भएको बताएका छन्। उनीहरूको भनाइ छ — “जेन–जी आन्दोलनले उठाएको मुद्दा नागरिकको अधिकार र स्वतन्त्रताको हो, जुन कुनै पार्टीको स्वार्थले थुनिन सक्दैन।”
‘#ArrestKP’ ट्रेन्ड सोमबार साँझसम्म फेसबुक, एक्स (ट्विटर) र इन्स्टाग्राममा हजारौं पटक प्रयोग भइसकेको छ। डिजिटल अभियानले फेरि एकपटक जेन–जी आन्दोलनलाई सार्वजनिक बहसको केन्द्रमा ल्याएको देखिएको छ।