काठमाडौं । नेकपा एकीकृत समाजवादीले नेकपा माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेको छ। एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेको हो। एकीकृत समाजवादीका उपाध्यक्ष जगन्नाथ खतिवडाले माओवादी केन्द्रसँग एकता गर्ने सर्वसम्मत निर्णय भएको जानकारी दिए।
उनले तीन चार दिनभित्रै एकताको घोषणा हुनसक्ने जिकिर गरे। खतिवडाले भने,‘एकताको घोषणा चाँडै हुन्छ। तीन चार दिनभित्रै हामी नयाँ ढंगको एकताको घोषणा गर्छौँ।’
अध्यक्ष माधवकुमार नेपालका साथै उनीनिकट नेताहरू माओवादी केन्द्रसँग एकता गर्ने निर्णयमा पुगे पनि एकीकृत समाजवादीका अन्य नेताहरू भने विरोधमा देखिएका छन्। पार्टीका सम्मानित नेता झलनाथ खनाल, वरिष्ठ नेता घनेन्द्र बस्नेत, महासचिव घनश्याम भुसाल, स्थायी कमिटी सदस्य रामकुमार झाँक्रीलगायतका नेताहरू एकताको विरोधमा देखिएका छन्।

